रास्वपा महाधिवेशनको निर्वाचन तालिका पाँचौँ पटक संशोधन, कार्यतालिका घर्किँदा पनि मतगणना अन्योलमै

रास्वपा महाधिवेशनको निर्वाचन तालिका पाँचौँ पटक संशोधन, कार्यतालिका घर्किँदा पनि मतगणना अन्योलमै

भरतपुर, चितवन। आन्तरिक विवाद र व्यवस्थापकीय कमजोरीका कारण लम्बिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनअन्तर्गत निर्वाचन आयोगले आफ्नो निर्वाचन तालिका फेरि पाँचौँ पटक संशोधन गरेको छ।

संशोधित पछिल्लो कार्यतालिका अनुसार पहिलो चरणअन्तर्गत केन्द्रीय सदस्य पदका लागि भएको निर्वाचनको मतगणना बिहीबार दिउँसो १ बजेदेखि ३ बजेभित्रै सम्पन्न गर्ने भनिएको थियो। तर, तोकिएको समयसीमा नाघिसक्दा समेत अहिलेसम्म मतगणना कार्य सुरु हुन सकेको छैन, जसले गर्दा आयोगको संशोधित तालिका नै प्रभावित बनेको छ।

संशोधित तालिकामा अपराह्न साढे ३ बजेदेखि साढे ४ बजेसम्म विदेशमा रहेका पदाधिकारीहरूलाई मतदान (भोट) गर्न दिने र पौने ५ बजे पहिलो चरणको अन्तिम मतपरिणाम सार्वजनिक गर्ने उल्लेख भए तापनि त्यो समय पनि बिनाकुनै परिणाम घर्किसकेको छ।

नयाँ कार्यतालिका अनुसार साँझ ५ बजेदेखि साढे ६ बजेसम्म दोस्रो चरणको निर्वाचनको आन्तरिक तयारी गर्ने समय छुट्याइएको छ। त्यसलगत्तै साढे ६ बजेदेखि ७ बजेसम्म पदाधिकारी पदका लागि मनोनयन फारम वितरण तथा दर्ता गर्ने समय तोकिएको छ भने साढे ७ बजे उम्मेदवारहरूको प्रारम्भिक सूची प्रकाशन गरिने जनाइएको छ।

उम्मेदवारहरूको उक्त प्रारम्भिक सूचीमाथि दाबी विरोध र उजुरी हाल्नका लागि राती ८ बजेसम्मको समय दिइएको छ भने प्राप्त उजुरीमाथि जाँचबुझ गर्न १५ मिनेट र उम्मेदवारी फिर्ता लिनका लागि थप १५ मिनेटको समय निर्धारण गरिएको छ।

यसै गरी, राती पौने ९ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिने र त्यसपछि पौने ९ देखि सवा ९ बजेसम्मको आधा घण्टालाई मौन अवधि तोकिएको छ। मौन अवधि सकिएलगतै राती सवा ९ बजेदेखि लगातार तीन घण्टासम्म मतदान हुने कार्यतालिकामा उल्लेख छ।

मतदान प्रक्रिया पूर्ण रूपमा सकिएको एक घण्टाभित्रै मतगणना कार्य सम्पन्न गरी बिहीबार राती साढे १ बजे दोस्रो चरणको अन्तिम मतपरिणाम घोषणा गरिने पार्टीको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ। तर, पहिलो चरणकै मतगणना अझै सुरु हुन नसकेकाले यो मध्यरातको कार्यतालिका समेत प्रभावित हुने निश्चित देखिएको छ।

छुटाउनुभयो कि ?