रास्वपा महाधिवेशनमा तीव्र असन्तुष्टि: मतदान प्रक्रिया र व्यवस्थापनमा गम्भीर प्रश्न

रास्वपा महाधिवेशनमा तीव्र असन्तुष्टि: मतदान प्रक्रिया र व्यवस्थापनमा गम्भीर प्रश्न

भरतपुर, चितवन। चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक महाधिवेशन नयाँ नेतृत्व चयनको मतदान परिणाम नआउँदै तीव्र आन्तरिक विवाद र भद्रगोल व्यवस्थापनका कारण आलोचित बनेको छ।

तीन दिनभित्र सम्पन्न गर्ने गरी सुरु भएको महाधिवेशन पाँचौँ दिनसम्म लम्बिए पनि अझै टुङ्गोमा पुग्न सकेको छैन। जम्मा ४ हजार ३ सय ११ प्रतिनिधि सहभागी रहेको यस महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि केवल २ हजार ९ सय ५९ मत मात्र खसेको छ भने झन्डै १ हजार ३ सय ५२ प्रतिनिधिहरू मतदान प्रक्रियामै सहभागी नभई फर्किएका छन्।

निर्वाचन सुरु हुनु अघिसम्म पनि प्रतिनिधिहरूको अन्तिम टुङ्गो लाग्न नसक्नु र मतदानका क्रममा चरम लापरबाही देखिनुले पार्टीको आन्तरिक लोकतन्त्र र व्यवस्थापकीय क्षमतामाथि गम्भीर प्रश्न उठाएको छ।

पार्टीले प्रविधिमैत्री भन्दै प्रयोगमा ल्याएको विद्युतीय भोटिङ मेसिनमा उम्मेदवारहरूको नाम समावेश गर्दा क्लस्टर र वर्णानुक्रम (अल्फाबेटिकल अर्डर) दुवैलाई बेवास्ता गरी 'सेटिङ' गरिएको आरोप असन्तुष्ट पक्षले लगाएका छन्।

कुल ९९ केन्द्रीय सदस्यका लागि ३ सय ८४ जना उम्मेदवार चुनावी मैदानमा रहेका बेला वरीयता र वर्णानुक्रम मिचेर पहिलो नम्बरमा डा. स्वर्णिम वाग्लेसहित शीर्ष नेताहरूको नाम राखिँदा अन्तिम क्रममा पारिएका उम्मेदवारहरूलाई ठूलो घाटा पुगेको जिकिर गरिएको छ। मतदाताले सुरुमै ९९ जनालाई मत दिइसक्ने हुँदा पछिल्लो क्रममा रहेका उम्मेदवारहरू छुट्ने निश्चित भएपछि यज्ञमणि न्यौपाने, दीपक बोहोरा, आशिका तामाङ र ज्वाला सङ्ग्रौला लगायतका नेताहरूले महाधिवेशनस्थलमै कडा आक्रोश पोखेका छन्।

आफूले भन्दा पछि फर्म भरेकाहरूको नाम अगाडि राखिएको, खुल्लामा भनिएका उम्मेदवारलाई भूगोलमा पारिएको र मनोनयन गर्दा ३७ नम्बरमा रहेको नाम मेसिनमा १०६ नम्बरमा पुर्‍याइएको भन्दै उनीहरूले पार्टीको निर्वाचन आयोगको विश्वसनीयतामाथि नै प्रश्न उठाएका छन्।

पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले महाधिवेशनमा गुट–उपगुट पूर्ण रूपमा निषेध गरिएको दाबी गरे तापनि भित्रभित्रै प्यानलसहितको 'चिट' (गुटगत सूची) बाँडिएको तथ्य बाहिरिएको छ। पाँच वर्षअघि एमालेको सौराहा महाधिवेशनमा जस्तै गरी मध्यराति बालेन पक्षले एउटा सूची बाँडेको र बिहीबार बिहान अर्को पक्षले क्रम सङ्ख्या बिगारेर मेसिनमा उम्मेदवारको नाम अपलोड गरेको आरोप प्रत्यारोप चलेको छ।

सभापतिमा रवि लामिछाने यसअघि नै निर्विरोध भइसकेका छन् भने वरिष्ठ नेता बालेन शाह र उनीनिकट कतिपय स्थापित नेताहरूले केन्द्रीय सदस्यमा उम्मेदवारी नै दिएनन्। आफूलाई परम्परागत दलहरूभन्दा भिन्न, शिक्षित र सूचना प्रविधिमा अब्बल दाबी गर्ने रास्वपाको महाधिवेशनस्थलमा छरिएका पर्चा–पम्पलेट र भद्रगोल व्यवस्थापनले पुरानै दलहरूको विकृतिलाई माथ दिएको भन्दै वर्षे खेती छाडेर चितवन ओर्लिएका कार्यकर्ता र प्रतिनिधिहरू नेतृत्वको लापरबाहीप्रति क्रुद्ध बनेका छन्।