रास्वपा महाधिवेशन : ९९ केन्द्रीय सदस्यका लागि २ सय ४ उम्मेदवार चुनावी मैदानमा

रास्वपा महाधिवेशन :  ९९ केन्द्रीय सदस्यका लागि २ सय ४ उम्मेदवार चुनावी मैदानमा

चितवन। चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया सुरु भएको छ।

रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार पार्टीका विभिन्न ९९ पदका लागि विद्युतीय प्रविधि (इलेक्ट्रोनिक भोटिङ) मार्फत मतदान सुरु गरिएको हो। मतदान प्रक्रिया सुरु भएसँगै देशभरबाट आएका महाधिवेशन प्रतिनिधिहरू मतदानका लागि हलमा उत्साहपूर्वक प्रवेश गरिरहेका छन्।

यही असार ७ गतेदेखि सुरु भएको यस गरिमामय महाधिवेशनको अन्तिम चरण अन्तर्गत आज बिहान १० बजेसम्म मतदान जारी रहने निर्वाचन आयोगले जनाएको छ। नयाँ कार्यसमितिमा आउनका लागि प्रतिनिधिहरूमाझ तीव्र प्रतिस्पर्धा देखिएको छ, जहाँ कुल ९९ सिटका लागि ३ सय ८४ जना उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका छन्।

यसअघि नै पार्टीको सर्वोच्च पद सभापतिमा भने वर्तमान सभापति रवि लामिछाने निर्विरोध निर्वाचित भइसक्नुभएको छ। शीर्ष नेतृत्व सर्वसम्मत चुनिए पनि अन्य महत्त्वपूर्ण केन्द्रीय पदहरूका लागि भने प्रतिनिधिहरूले लोकतान्त्रिक विधिबाट विद्युतीय माध्यम प्रयोग गरी आफ्नो मताधिकार प्रयोग गरिरहेका छन्।