काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया उत्साहजनक रूपमा अगाडि बढेको छ।
महाधिवेशनमा पार्टीको सर्वोच्च पद सभापतिमा रवि लामिछाने सर्वसम्मत रूपमा चयन भइसक्नुभएको छ। यद्यपि, बाँकी पदहरूका लागि भने तीव्र प्रतिस्पर्धा देखिएको छ, जहाँ कुल ९९ जना केन्द्रीय सदस्यका लागि झन्डै ४ सय जनाको उम्मेदवारी परेको छ।
यसैबीच, महाधिवेशनका सम्पूर्ण प्रक्रियाहरू नसकिँदै प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेन्द्र (बालेन) शाह भने काठमाडौँतर्फ प्रस्थान गर्नुभएको छ। उहाँ आफ्नो राजनीतिक व्यस्तता र कार्यतालिकाका कारण महाधिवेशनको बीचैमा राजधानी फर्कनुभएको हो।
प्रधानमन्त्री शाह आफ्ना परिवारका सदस्यहरूका साथ चितवनको भरतपुरस्थित विमानस्थलबाट हवाई मार्ग हुँदै आज काठमाडौ फर्किएका छन्। चितवन बसाइका क्रममा उनले परिवारसहितको तस्बिर सार्वजनिक गर्दै स्थानीय पर्यटनको समेत प्रवर्द्धन गरेका थिए। उता चितवनमा भने विद्युतीय मतदान प्रणालीमार्फत नयाँ केन्द्रीय समिति चयन गर्ने कार्य जारी रहेको छ।