काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को खुलातर्फको केन्द्रीय सदस्य पदका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।
चितवनमा आइतबारदेखि जारी रास्वपाको प्रथम ऐतिहासिक महाधिवेशनमा पार्टीका प्रभावशाली नेता समेत रहेका मन्त्री पोखरेलले केन्द्रीय नेतृत्वका लागि उम्मेदवारी दिएका हुन्।
केन्द्रीय सदस्यका प्रत्याशी मन्त्री पोखरेलको उम्मेदवारीको प्रस्तावकमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र रहेका छन् भने पार्टीका अन्य २१ जना महाधिवेशन प्रतिनिधिले उनको उम्मेदवारीलाई समर्थन गरेका छन्।
उम्मेदवारी दर्ता गराएलगत्तै मन्त्री पोखरेलले केन्द्रीय सदस्यको जिम्मेवारीमा पुगेर पार्टीको मार्गदर्शक सिद्धान्त, लोकतान्त्रिक मूल्य-मान्यता र राजनीतिक अभियानलाई थप सशक्त एवं गतिशील बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे।
उनले पार्टीको मार्गचित्रलाई मजबुत बनाउन इमानदारीपूर्वक योगदान दिने संकल्पसहित उपस्थित सम्पूर्ण प्रतिनिधिहरूसमक्ष विश्वास र अमूल्य समर्थनका लागि अपिल समेत गरेका छन्।
प्रधानमन्त्री बालेन शाह नेतृत्वको वर्तमान सरकारमा शिक्षा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी कुशलतापूर्वक सम्हालिरहेका पोखरेल रास्वपाको तर्फबाट काठमाडौँ क्षेत्र नम्बर ५ बाट निर्वाचित लोकप्रिय सांसद हुन्।