इरानविरुद्धको सैन्य कारबाहीका लागि कंग्रेसको स्वीकृति चाहिने अमेरिकी सिनेटको ऐतिहासिक प्रस्ताव पारित

इरानविरुद्धको सैन्य कारबाहीका लागि कंग्रेसको स्वीकृति चाहिने अमेरिकी सिनेटको ऐतिहासिक प्रस्ताव पारित

काठमाडौँ । अमेरिकी सिनेटले इरानसँग सम्बन्धित युद्धका विषयमा एउटा महत्वपूर्ण र ऐतिहासिक प्रस्ताव पारित गरेको छ।

पारित प्रस्तावमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानविरुद्ध जारी सैन्य कारबाहीलाई अघि बढाउन वा कुनै पनि नयाँ युद्ध अभियान सुरु गर्नुअघि अनिवार्य रूपमा कंग्रेसको स्वीकृति लिन निर्देशन दिइएको छ। सिनेटमा राष्ट्रपति ट्रम्पकै रिपब्लिकन पार्टीको बहुमत रहेका बेला यस्तो प्रस्ताव पारित हुनुलाई उनको लागि ठूलो राजनीतिक झट्काका रूपमा हेरिएको छ।

मंगलबार भएको मतदानमा केही रिपब्लिकन सिनेटरहरूले आफ्नो पार्टीको लाइनभन्दा बाहिर गइ डेमोक्रेट सांसदहरूसँग मिलेर प्रस्तावको पक्षमा मतदान गरेपछि यो ५०–४८ मतले पारित भएको हो।

रिपब्लिकन सिनेटरहरू र्यान्ड पल, लिसा मुर्कोव्स्की, सुसन कोलिन्स र बिल क्यासिडीले प्रस्तावको पक्षमा मतदान गरेका थिए भने डेमोक्रेटिक सिनेटर जोन फेटरम्यान आफ्नै पार्टीका एकमात्र त्यस्ता सदस्य बने जसले प्रस्तावको विपक्षमा मत हाले। यसअघि जुन महिनामा संसद् (हाउस अफ रिप्रिजेन्टेटिभ्स) ले पनि चार रिपब्लिकन सांसदको समर्थनसहित यो प्रस्ताव २१५–२०८ मतले पारित गरिसकेको छ। यो मतदानमा रिपब्लिकन सिनेटर मिच म्याककोनेल र डेभ म्याककोर्मिक अनुपस्थित रहेका कारण पनि प्रस्ताव पारित हुन सहज भएको थियो।

कंग्रेसका दुवै सदनबाट पारित भए पनि यो प्रस्ताव मुख्यतः प्रतीकात्मक प्रकृतिको मानिएको छ। यसलाई राष्ट्रपति ट्रम्पसमक्ष हस्ताक्षरका लागि नपठाइने हुनाले यसको कानुनी रूपमा बाध्यकारी प्रभाव भने रहने छैन।

यद्यपि, सन् १९७३ को ‘वार पावर्स रिजोल्युसन’ लागू भएयता अमेरिकी कंग्रेसका दुवै सदनले पहिलो पटक कुनै राष्ट्रपतिलाई सैन्य कारबाही अन्त्य गर्न यसरी निर्देशन दिएका हुनाले यस कदमलाई निकै ऐतिहासिक मानिएको छ।

यो प्रस्ताव पारित भएसँगै ह्वाइट हाउसमाथि इरानसँगको युद्ध अन्त्य गर्न चौतर्फी दबाब बढेको छ। लामो युद्धका कारण इन्धनको मूल्य वृद्धि भएको र आम अमेरिकी नागरिकमा युद्धविरोधी भावना बलियो बन्दै गएको छ।

तर, ह्वाइट हाउसका एक अधिकारीले भने अप्रिल ७ देखि नै युद्धविराम लागू भइसकेकाले हाल अमेरिकी सैनिकलाई फिर्ता बोलाउनुपर्ने खालको कुनै सक्रिय सैन्य कारबाही सञ्चालनमा नरहेको दाबी गरेका छन्। नोभेम्बरमा हुने मध्यावधि निर्वाचन नजिकिँदै गर्दा भएको यो मतदानले रिपब्लिकन पार्टीभित्रै नीतिगत विषयमा बढ्दो मतभेदलाई छताछुल्ल पारेको छ।

छुटाउनुभयो कि ?