कांग्रेस त्यागेर रास्वपा प्रवेश गरेका तीन स्थानीय जनप्रतिनिधि पदमुक्त, निर्वाचन आयोगद्वारा पद रिक्त भएको सूचना जारी

कांग्रेस त्यागेर रास्वपा प्रवेश गरेका तीन स्थानीय जनप्रतिनिधि पदमुक्त, निर्वाचन आयोगद्वारा पद रिक्त भएको सूचना जारी

काठमाडौँ । स्थानीय तह निर्वाचन २०७९ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार भई विभिन्न पदमा निर्वाचित भएका तीनजना जनप्रतिनिधिहरू पदमुक्त भएका छन्।

नेपाली कांग्रेस पार्टी परित्याग गरी उनीहरू अन्य राजनीतिक दलमा प्रवेश गरेपछि निर्वाचन आयोगले एक सार्वजनिक सूचना जारी गर्दै उनीहरू निर्वाचित भएका पदहरू स्वतः रिक्त भएको जानकारी दिएको हो।

यसरी पद गुमाउने जनप्रतिनिधिहरूमा जुम्लाको गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढा, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को पाल्हीनन्दन गाउँपालिकाकी उपाध्यक्ष फातिमा खातुन अन्सारी र बुटवल उपमहानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष विष्णु ढकाल रहेका छन्।

कांग्रेसबाट निर्वाचित भएका यी तीनैजना जनप्रतिनिधिहरू पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका थिए।

राजनीतिक दल सम्बन्धी प्रचलित ऐनको कानुनी व्यवस्थाबमोजिम नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले गरेको सिफारिस र निर्णयका आधारमा निर्वाचन आयोगले उनीहरूको पद रिक्त गर्ने कदम चालेको हो।

नेपाली कांग्रेसले आफ्ना तर्फबाट निर्वाचित यी प्रतिनिधिहरूले दल त्याग गरी अर्को दलमा प्रवेश गरेर राजनीतिक अनुशासन उल्लंघन गरेको भन्दै पदमुक्तिको आवश्यक कारबाहीका लागि आयोगमा आधिकारिक पत्राचार गरेको थियो। सोही पत्रका आधारमा आयोगले कानुनी प्रक्रिया पूरा गरी रिक्तताको सूचना सार्वजनिक गरेको हो।

धेरै पढिएको

छुटाउनुभयो कि ?