रास्वपा महाधिवेशन : मंगलबार दिउँसो २ बजेदेखि बन्दसत्र सुरु हुँदै, रवि लामिछानेले प्रतिवेदन पेस गर्ने कार्यतालिका

रास्वपा महाधिवेशन : मंगलबार दिउँसो २ बजेदेखि बन्दसत्र सुरु हुँदै, रवि लामिछानेले प्रतिवेदन पेस गर्ने कार्यतालिका

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनको भरतपुरमा जारी पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशन अन्तर्गतको बहुप्रतीक्षित बन्दसत्र मंगलबार दिउँसो २ बजेदेखि सुरु हुने भएको छ। बन्दसत्रका लागि महाधिवेशन प्रतिनिधि दर्ताको कार्य मंगलबार बिहान १० बजेदेखि नै सुचारु भइसकेको छ।

कार्यतालिका अनुसार बिहान ११ः४५ बजे भोजनको समय पश्चात् दिउँसो २ बजे पार्टी सभापति रवि लामिछानेले बन्दसत्रको औपचारिक आरम्भ गर्नुहुने कार्यक्रम तय गरिएको छ।  

बन्दसत्रको औपचारिक सुरुआत भएसँगै पार्टीका विभिन्न निकाय र पदाधिकारीहरूका तर्फबाट तयार पारिएका प्रतिवेदनहरूमाथि गहन छलफल चलाउने गरी कार्यसूची सार्वजनिक गरिएको छ।

कार्यसूची अनुसार दिउँसो २ः१० देखि २ः३० बजेसम्मको सुरुवाती समयमा अनुशासन आयोगका तर्फबाट रमाकान्त रिमालले प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ भने त्यसलगत्तै पार्टीको वित्तीय अवस्था झल्काउने प्रतिवेदन कोषाध्यक्ष लिमा अधिकारीले प्रस्तुत गर्ने कार्यक्रम छ।

 यसैगरी, महाधिवेशनको बन्दसत्रमा नीतिगत र साङ्गठनिक परिमार्जनका विषयमा पनि बहस हुनेछ। केन्द्रीय समितिबाट परिमार्जन र पारित भइसकेको विधान संशोधन प्रस्तावलाई आजै दिउँसो ३ः४५ देखि ४ः४५ बजेसम्मको समयमा पार्टीका सहमहामन्त्री विपिन कुमार आचार्यले बन्दसत्र समक्ष प्रस्तुत गर्नेछन्।  

विधानमाथिको छलफल सकिएपछि दिउँसो ४ः४५ देखि ५ः१५ बजेसम्म पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले अर्थ–राजनीतिक प्रस्तावना प्रस्तुत गर्ने कार्यतालिका रहेको छ।

यसैगरी, बन्दसत्रको मुख्य आकर्षणका रूपमा रहने पार्टी सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदन प्रस्तुत हुनेछ। सभापति लामिछानेले आफ्नो राजनीतिक प्रतिवेदन पेस गरेपछि त्यसमाथि महाधिवेशन प्रतिनिधिहरूबीच साँझ ६ः३५ बजेसम्म व्यापक छलफल र प्रस्तुतीकरणको कार्यक्रम तय गरिएको छ।

धेरै पढिएको

छुटाउनुभयो कि ?