रास्वपा केन्द्रीय सदस्यमा शिक्षामन्त्री सस्मित पोखरेलको उम्मेदवारी घोषणा

रास्वपा केन्द्रीय सदस्यमा शिक्षामन्त्री सस्मित पोखरेलको उम्मेदवारी घोषणा

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि र खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। पार्टीको चितवनमा जारी पहिलो महाधिवेशनको सन्दर्भमा उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो उम्मेदवारी निश्चित भएको जानकारी गराएका हुन्।

आफ्नो उम्मेदवारी घोषणा गर्दै मन्त्री पोखरेलले केन्द्रीय सदस्यको जिम्मेवारीमा पुगेर रास्वपाको सिद्धान्त, मूल विचार र राजनीतिक अभियानलाई थप मजबुत र सशक्त बनाउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले पार्टीको मार्गचित्रलाई इमानदारीपूर्वक अगाडि बढाउन आफ्नो योगदान रहने उल्लेख गर्दै सम्पूर्ण नेता तथा कार्यकर्ताहरूसँग विश्वास र समर्थनका लागि अपिलसमेत गरेका छन्।

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारमा शिक्षा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हालेका पोखरेल सरकारको प्रवक्ता समेत हुन्। रास्वपाको तर्फबाट काठमाडौँ क्षेत्र नम्बर ५ बाट निर्वाचित सांसद पोखरेल निर्वाचनका समयमा आफ्नो पृथक् र सिर्जनशील चुनावी शैलीका कारण सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा निकै चर्चामा आएका थिए। राजनीतिक वृत्तमा विषयवस्तुको गहिरो अध्ययन, स्पष्ट दृष्टिकोण र शालीन प्रस्तुतिको धनी नेताका रूपमा उनको पहिचान स्थापित छ।

यसैबीच, रास्वपाको चितवन महाधिवेशनअन्तर्गत बन्द सत्रबाट सांगठनिक तथा राजनीतिक प्रतिवेदनहरू पारित भएपछि भोलि मङ्गलवारदेखि नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु हुने कार्यतालिका रहेको छ।

धेरै पढिएको

छुटाउनुभयो कि ?