हिरासतभित्रै छिरेर धम्की दिएको भन्दै गृहमन्त्री सुधन गुरुङ विरुद्ध मानव अधिकार आयोगमा उजुरी

हिरासतभित्रै छिरेर धम्की दिएको भन्दै गृहमन्त्री सुधन गुरुङ विरुद्ध मानव अधिकार आयोगमा उजुरी

 

काठमाडौं । शान्तिपूर्ण प्रदर्शनका क्रममा पक्राउ परी प्रहरी हिरासतमा रहेका व्यक्तिहरूलाई हिरासत कक्षभित्रै प्रवेश गरेर मानसिक दबाब र ज्यान मार्ने धम्की दिएको आरोपमा गृहमन्त्री सुधन गुरुङ विरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता भएको छ।

पीडितहरू अजय सोडारी, प्रकाश बम र सुजन पौडेलले ललितपुरको पुल्चोकस्थित आयोगको केन्द्रीय कार्यालय पुगेर राज्यको जिम्मेवार पदमा आसिन व्यक्तिबाटै आफूहरूमाथि गम्भीर मानव अधिकार उल्लंघन भएको भन्दै न्यायका लागि निवेदन दिएका हुन्।

उजुरीकर्ताहरूका अनुसार गत जेठ १९ गते कालापानी, लिपुलेक र लिम्पियाधुराको सीमा विवादको विषयलाई लिएर काठमाडौंस्थित भारतीय दूतावास अगाडि शान्तिपूर्ण प्रदर्शन गर्ने क्रममा उनीहरूलाई सोह्रखुट्टे प्रहरी वृत्तको टोलीले नियन्त्रणमा लिएको थियो।

प्रहरीले हिरासतमा राखेको करिब आधा घण्टापछि गृहमन्त्री गुरुङको नेतृत्वमा आएको एक टोली अनधिकृत रूपमा हिरासत कक्षभित्र छिरेर आफूहरूलाई मानसिक तनाव दिनुका साथै धम्क्याएको पीडितहरूको दाबी छ।

आयोगमा दर्ता गरिएको उक्त निवेदनमा सोह्रखुट्टे प्रहरी वृत्तमा रहेका पीडितहरूको स्थलगत बयान लिई घटनाको सत्यतथ्य छानबिन गर्न माग गरिएको छ। साथै, घटना भएको दिनको प्रहरी वृत्तको सीसीटीभी फुटेज तथा आगन्तुक अभिलेख (विजिटर रेकर्ड) समेत तत्काल नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाउन आयोगको विशेष टोली समक्ष आग्रह गरिएको छ।

धेरै पढिएको

छुटाउनुभयो कि ?