चलचित्र ‘झिँगेदाउ–२’ को आधिकारिक पोस्टर सार्वजनिक, आगामी असोज २ गते प्रदर्शन हुने

चलचित्र ‘झिँगेदाउ–२’ को आधिकारिक पोस्टर सार्वजनिक, आगामी असोज २ गते प्रदर्शन हुने

काठमाडाैं। कपनगढी सिनेमा प्रालि. र फिल्म क्र्यु नेपाल प्रालिको संयुक्त प्रस्तुतिमा निर्माण भएको बहुप्रतीक्षित नेपाली चलचित्र ‘झिँगेदाउ–२’ को आधिकारिक पोस्टर सोमबार सार्वजनिक गरिएको छ ।

पोस्टर सार्वजनिक भएसँगै निर्माण पक्षले चलचित्र आगामी असोज २ गतेदेखि देशभरका सिनेमा घरहरूमा एकसाथ प्रदर्शनमा आउने घोषणा समेत गरेको छ । पारिवारिक, सामाजिक तथा मनोरञ्जनात्मक कथावस्तुमा आधारित यस चलचित्रलाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् भने यसका निर्माता सुलभ प्रतिक देउजा र समिक्षा देउजा हुन् । चलचित्रको संगीत पक्ष अर्जुन पोखरेल र ज्ञानेन्द्र देउजाले सम्हालेका छन् ।

सार्वजनिक गरिएको पोस्टरमा चलचित्रका मुख्य तथा प्रभावशाली कलाकारहरूलाई विशेष स्थान दिइएको छ । यस चलचित्रमा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल बिष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अशु महर्जन, अभयराज बराल, उत्तम केसी, शिवहरि बैरागी नेपाल, आशा भुसाल, रेनु प्रधान तथा विनोदकुमार पौडेल लगायतका कलाकारहरूको सशक्त अभिनय देख्न पाइनेछ । साथै, वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र मिथिला शर्मा चलचित्रमा अतिथि भूमिकामा प्रस्तुत भएका छन् ।

चलचित्रको पटकथा, संवाद तथा परिकल्पना सेन, गोविन्द फुयाल र शिशिर चालिसेले मिलेर तयार पारेका हुन् । विष्णु घिमिरे ‘कल्पित’ र बिबेक बस्नेतको छायांकन रहेको यस चलचित्रलाई मित्र डी. गुरुङले सम्पादन गरेका हुन् भने निर्माण व्यवस्थापनको जिम्मेवारी ईश्वर घिमिरेले पूरा गरेका छन् ।

यसअघि प्रदर्शनमा आएको ‘झिँगेदाउ’ को पहिलो श्रृंखलाले बक्स अफिसमा व्यावसायिक रूपमा सुखद नतिजा निकाल्दै दर्शकबाट निकै राम्रो प्रतिक्रिया पाएकाले पनि यसको दोस्रो श्रृंखलाप्रति चलचित्रकर्मी र आम दर्शक माझ निकै उत्सुकता र चासो बढेको छ ।

धेरै पढिएको

छुटाउनुभयो कि ?