कतारको रास लाफान ग्यास प्लान्टमा भीषण विष्फोट: ५४ जना घाइते, १८ जना बेपत्ता

कतारको रास लाफान ग्यास प्लान्टमा भीषण विष्फोट: ५४ जना घाइते, १८ जना बेपत्ता

दाेहा। कतारको प्रमुख औद्योगिक क्षेत्र रास लाफान इन्डस्ट्रियल सिटीस्थित एक ग्यास प्लान्टमा भीषण विष्फोट भएको छ । अचानक भएको यस विष्फोट र त्यसपछि फैलिएको ठूलो आगलागीका कारण ५४ जना घाइते भएका छन् भने १८ जना कामदार बेपत्ता भएका छन् ।

घटनालगत्तै कम्पनीले आपत्कालीन उद्धार टोलीहरूलाई घटनास्थलमा परिचालन गरी छोटो समयमै आगो नियन्त्रणमा लिएको थियो । विष्फोटको आवाज यति शक्तिशाली थियो कि राजधानी दोहासम्म पनि यसको धक्का र ठूलो आवाज सुनिएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

कतारको गृह मन्त्रालयले एक विशेष विज्ञप्ति जारी गर्दै दुर्घटनाको पुष्टि गरेको छ र बेपत्ता रहेका १८ जनाको खोजी कार्य तीव्र पारिएको जनाएको छ । मन्त्रालयका अनुसार यो दुर्घटना विशुद्ध 'प्राविधिक गडबडी' का कारण भएको हो र यसबाट सर्वसाधारणको सुरक्षामा खतरा पुग्ने गरी कुनै पनि हानिकारक ग्यास चुहावट नभएको स्पष्ट पारिएको छ । कतारको आन्तरिक बजारमा ग्यास आपूर्ति गर्ने यस महत्त्वपूर्ण प्लान्टमा भएको भौतिक क्षतिको विस्तृत विवरण भने आधिकारिक रूपमा सार्वजनिक गरिएको छैन ।

अहिले घटनास्थलमा कतार इन्टरनेसनल सर्च एन्ड रेस्क्यु ग्रुपले सिभिल डिफेन्स टोलीसँग मिलेर बेपत्ता भएका व्यक्तिहरूको खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ । घाइतेहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ भने प्रशासनले घटनाको थप अनुसन्धान सुरु गरिसकेको छ ।

धेरै पढिएको

छुटाउनुभयो कि ?