रास्वपालाई वर्षमान पुनको सुझाव: ‘संविधान र सामाजिक न्यायप्रति प्रतिबद्धता बलियो बनाउनुस्, बहुमतले विनम्रता सिकोस्’

रास्वपालाई वर्षमान पुनको सुझाव: ‘संविधान र सामाजिक न्यायप्रति प्रतिबद्धता बलियो बनाउनुस्, बहुमतले विनम्रता सिकोस्’

चितवन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’ ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सामाजिक न्यायसहितको संघीय लोकतान्त्रिक गणतन्त्रप्रति अझ स्पष्ट र बलियो प्रतिबद्धता व्यक्त गर्न आग्रह गरेका छन्।

आइतबार भरतपुरमा आयोजित रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता पुनले नयाँ शक्तिका रूपमा छोटो समयमै उल्लेख्य जनसमर्थन पाएको रास्वपामाथि सिंगो देशको विशेष चासो र अपेक्षा रहेको बताए। महाधिवेशनबाट तय हुने नीति, विचार, रणनीति र कार्यदिशाले राष्ट्रिय राजनीतिमै दीर्घकालीन प्रभाव पार्ने भएकाले पनि देशको आँखा यस महाधिवेशनमाथि परेको उनको भनाइ थियो।

सम्बोधनका क्रममा नेता पुनले नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्यका कारण उपस्थित हुन नसकेको जानकारी दिँदै उनको शुभकामना सन्देश समेत सुनाएका थिए।

रास्वपा र नेकपाबीच केही नीतिगत, व्यवहारगत र शैलीगत भिन्नताहरू रहेको उल्लेख गर्दै पुनले रास्वपाको नियतमाथि आफूहरूलाई शंका नभए पनि संविधान, लोकतन्त्र र स्थापित प्रणालीका विषयमा उठ्ने गरेका आशंका मेटिने गरी उच्च तहको प्रतिबद्धता आओस् भन्ने चाहना व्यक्त गरे। पृष्ठभूमि र कार्यशैली फरक भए पनि निरन्तरतालाई क्रमभंग गर्दै स्थापित शक्तिलाई चुनौती दिएर नयाँ राजनीतिक यात्रा तय गर्नु, क्रान्ति र परिवर्तनका मुद्दा उठाउनु तथा सुशासनका एजेण्डा बोक्नु दुवै दलका साझा विशेषता भएको उनले प्रष्ट पारे।

विगतमा सरकारमा र सरकारबाहिर रहँदा पनि सुशासनका मुद्दामा यी दुई दलबीच सबैभन्दा निकट सहकार्य भएको स्मरण गर्दै उनले भविष्यमा पनि यो सहकार्य जारी रहने तर थिति बसाल्न चालिने कदमहरू सधैँ संविधान र कानुनको दायराभित्र हुनुपर्नेमा जोड दिए।

लोकतन्त्रमा राजनीतिक दलहरू नै प्रमुख आधारस्तम्भ भएको चर्चा गर्दै नेता पुनले सत्ता र बहुमतको संख्या सधैँ अस्थायी हुने यथार्थ रास्वपालाई स्मरण गराए। जनताले शक्ति दिने र आवश्यक पर्दा फिर्ता पनि लिने भएकाले राजनीतिमा बहुमत हुनेले विनम्रता र अल्पमतमा हुनेले धैर्यता सिक्नुपर्ने उनको सुझाव थियो।

विगतमा आफूहरूसँग र अन्य दलसँग रहेको बहुमतको संख्या आज रास्वपासँग पुगेको भन्दै उनले संख्या र सरकार फेरिए पनि लोकतान्त्रिक प्रणाली, विधि र संस्थाहरू स्थायी हुनुपर्ने मान्यता राखे। रास्वपामा युवाहरूको बाहुल्य र ऊर्जा देख्दा खुसी लागेको बताउँदै उनले आफू पनि २७ वर्षकै उमेरमा कम्युनिष्ट पार्टीको केन्द्रीय समितिमा पुगेको संस्मरण सुनाए। युवा अवस्थाको जोस, साहस र सपनालाई देश निर्माणमा सही ढंगले उपयोग गर्न आग्रह गर्दै नेता पुनले जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन लगायतका विभिन्न ऐतिहासिक संघर्ष र शहीदहरूको योगदानप्रति श्रद्धाञ्जली समेत व्यक्त गरे।

छुटाउनुभयो कि ?