काठमाडौं । प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले रास्वपा र वर्तमान सरकारको यात्रा अब कुनै स्थानीय सडकमा नभई ‘एक्सप्रेस वे’ मा अगाडि बढिरहेको बताएका छन्।
चितवनमा आयोजित रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै उनले पार्टीको यो राष्ट्रिय अभियान र सरकारको गति गन्तव्यमा नपुग्दासम्म कुनै पनि हालतमा नरोकिने स्पष्ट पारे। महाधिवेशनका क्रममा विभिन्न राजनीतिक दलका अतिथि नेताहरूले पार्टी र सरकारको गति तथा कार्यशैलीप्रति व्यक्त गरेका सुझाव, चासो र चिन्तालाई सकारात्मक रूपमा लिँदै उनले सबैप्रति धन्यवाद समेत प्रकट गरे।
सम्बोधनका क्रममा नेता शाहले सरकारको कार्यसञ्चालनलाई गाडीको गतिको प्रसंगसँग तुलना गर्दै रोचक जवाफ दिए। गाडीमा गति बढाउने एक्सिलेटर मात्र नभई नियन्त्रण गर्ने ब्रेक पनि हुने र गाडी अनियन्त्रित होला कि भनेर ब्रेक लगाउनुपर्ने चिन्ता आउनु स्वाभाविक भएको उनले उल्लेख गरे।
साना र स्थानीय सडकमा हिँड्दा दायाँ–बायाँबाट धेरै किसिमका चिन्ता र व्यवधानहरू आउने भए पनि रास्वपा नेतृत्वको सरकार अहिले ठूलो र खुला 'एक्सप्रेस वे' मा गुडिरहेको हुनाले यसको यात्रा सुरक्षित र निश्चित रहेको उनको भनाइ थियो। उनले सरकार र पार्टीको यो यात्रा पूर्ण रूपमा नियन्त्रित र योजनाबद्ध रहेको स्पष्ट पार्दै आफ्नो निश्चित गन्तव्य र उद्देश्य पूरा गरेपछि मात्र ब्रेक लाग्ने दाबी गरे।
नयाँ दलहरूले पाएको जनमत अस्थिर हुने र यो हावाको दिशाजस्तै सजिलै बदलिने भनी पुराना दलका नेताहरूले गरेको टिप्पणीप्रति पनि शाहले कडा प्रतिवाद गरे। जनताको भोट क्षणिक हावाजस्तो चल्ने र हराउने खालको नभएको तर्क गर्दै उनले रास्वपाले कुनै सस्तो हावा वा भ्रम फैलाएर जनमत नकमाएको प्रस्ट पारे।
आफूहरूले राजनीतिमा स्थापित गलत प्रवृत्तिलाई चिर्दै ठूलो बाढी ल्याएर वर्षौँदेखि बिग्रिएको खोलालाई सहि बाटोमा फर्काउने काम गरेको भन्दै उनले यो जनमत र परिवर्तनको लहर अब आफ्नै प्राकृतिक बहावमा निरन्तर अगाडि बढिरहने विश्वास व्यक्त गरे।
रास्वपाले देशमा नयाँ राजनीतिक धारको निर्माण गरिसकेकाले अब जनताले सुशासन, तीव्र विकास र प्रत्यक्ष परिणाममुखी काम देख्न पाउने र त्यसैका माध्यमबाट नागरिकको यो बलियो विश्वासलाई अझ मजबुत बनाउँदै लैजाने प्रतिबद्धता समेत उनले जनाए।