रास्वपाका नेता–कार्यकर्तालाई गगन थापाको सुझाव: ‘पार्टीभित्र गलत हुँदा चुप नबस्नुस्, आफ्नै नेतृत्वलाई प्रश्न गर्न सक्ने संस्कार बसाल्नुस्’

रास्वपाका नेता–कार्यकर्तालाई गगन थापाको सुझाव: ‘पार्टीभित्र गलत हुँदा चुप नबस्नुस्, आफ्नै नेतृत्वलाई प्रश्न गर्न सक्ने संस्कार बसाल्नुस्’

चितवनमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नयाँ राजनीतिक शक्तिलाई आन्तरिक लोकतन्त्र, सुशासन र इतिहासको सम्मान गर्न विशेष आग्रह गरेका छन्।

उनले रास्वपाका नेता तथा कार्यकर्ताहरूलाई आफ्नै पार्टीभित्र हुने गलत कामविरुद्ध खुलेर आवाज उठाउन आह्वान गर्दै पार्टीभित्रको विकृति विरोध गर्न नसक्नेले देशमा सुशासन स्थापित गर्न नसक्ने स्पष्ट पारे।

विगतमा कांग्रेसले आफ्नै नेताहरूलाई प्रश्न नगरेर गल्ती गरेको र नेताहरूलाई ‘दाइ’ वा ‘बा’ भन्दै प्रश्नभन्दा माथि राख्दा सुशासन कमजोर भएको आत्मसमीक्षा गर्दै थापाले रास्वपालाई त्यस्तो गल्ती नदोहोर्‍याउन र नेतृत्वलाई प्रश्न गर्ने संस्कार विकास गर्न सुझाव दिए। बाहिरका राजनीतिक प्रतिस्पर्धीसँग लड्नुभन्दा आफ्नै पार्टीभित्रका कमजोरीविरुद्ध संघर्ष गर्न झन् कठिन हुने उल्लेख गर्दै उनले नसच्चिएपछि कांग्रेसभित्र पनि आफूहरूले विद्रोह गरेको स्मरण गराए।

रास्वपाले प्राप्त गरेको असाधारण जनमतको प्रशंसा गर्दै सभापति थापाले यसलाई जोगाउन लोकतान्त्रिक संस्कार, विधिको शासन र आत्मसमीक्षाको संस्कृति आवश्यक पर्ने बताए। विगतमा ठूलो जनमत प्राप्त गरेका राजनीतिक शक्तिहरू आन्तरिक विवाद र नेतृत्वमा देखिएको उन्मादका कारण दुर्घटनामा परेको इतिहास सुनाउँदै उनले रास्वपामा त्यस्तो उन्माद र विवाद नदेखियोस् भन्ने कामना गरे।

रास्वपामा आउने संकटको क्षति देश, जनता र लोकतन्त्रले समेत व्यहोर्नुपर्ने भएकाले पार्टीभित्र विवाद नहोस् र देशमा स्थिरता कायम होस् भन्ने आफ्नो चाहना रहेको उनले उल्लेख गरे। महाधिवेशनमा सभापतिमा रवि लामिछाने र वरिष्ठ नेतामा बलेन शाह निर्विरोध हुन लागेको प्रसङ्गप्रति खुसी व्यक्त गर्दै उनले रास्वपाको सफलता लोभलाग्दो भएको भन्दै बधाई समेत दिए।

नेपाली कांग्रेस र रास्वपाबीच राजनीतिक प्रतिस्पर्धा भए पनि कुनै शत्रुता नरहेको प्रष्ट पार्दै थापाले कांग्रेस रास्वपाको खुट्टा काटेर वा अरूलाई फोहोर बनाएर नभई आफ्नै खुट्टा बढाएर र आफैँ सफल भएर अगाडि बढ्न चाहेको बताए। रास्वपा नेतृत्वको सरकारले राम्रो काम गरे कांग्रेसले खुलेर समर्थन गर्ने र गलत बाटोमा गए खबरदारी गर्न कहिल्यै खुट्टा नकमाउने उनको भनाइ थियो।

उनले खुट्टा भाँच्नुपर्छ भन्ने मान्यताको कांग्रेस घोर विरोधी रहेको तर कानुनअनुसार गरिने कारबाहीको भने सधैँ समर्थक रहने स्पष्ट पारे। छिमेकीले सिमाना मिचेको जस्ता राष्ट्रियताका संवेदनशील विषयमा आउने गलत अभिव्यक्तिको विरोध हुनुपर्ने र त्यसमा रास्वपाले पनि विरोध गरे कांग्रेसले खुलेर प्रशंसा गर्ने उनले बताए। लोकतन्त्र र विधिको शासन केवल दस्तावेजमा लेखिने विषय मात्र नभएर यसलाई मन, वचन र कर्ममै उतार्नुपर्नेमा उनले जोड दिए।

आफ्नो सम्बोधनका क्रममा थापाले नयाँ पुस्तालाई इतिहास र लोकतान्त्रिक आन्दोलनका बलिदान नबिर्सन भावुक आग्रह गरे। चितवनको सहरभरि निलो झण्डा फहराइरहेको दृश्य देख्दा खुसी लागेको भए पनि यो भूमिको ऐतिहासिकता र सहिदहरूको रातो रगतलाई बिर्सन नमिल्ने उनले सम्झाए। विगतमा केही नराम्रा काम भए पनि सबै खराब नभएको र राम्रा कामहरू धेरै भएको चर्चा गर्दै उनले वि.सं. २०१८ मा चितवनकै भूमिमा ‘जय नेपाल’ भनेर लोकतन्त्र माग्दा ५० जनाको हत्या गरी लास गाडिएको इतिहास स्मरण गराए।

आज सबै दलले स्वतन्त्र रूपमा आफ्ना झण्डाहरू फहराउन पाउनुको श्रेय तिनै सहिद र पुराना आन्दोलनको बलिदानलाई जाने भएकाले निलो झण्डा फहराउँदै गर्दा भुइँको रातो इतिहास र विगतका योगदानलाई अवमूल्यन नगर्न उनले सचेत गराए। कांग्रेसले जहाँ विधि मिचिन्छ, त्यहाँ सधैँ प्रश्न उठाइरहने दृढता व्यक्त गर्दै उनले नयाँ पार्टीहरूबाट कांग्रेसले धेरै सिक्न चाहेको र नयाँले पनि इतिहासबाट धेरै सिक्नुपर्ने उल्लेख गरे।

छुटाउनुभयो कि ?