रास्वपा महाधिवेशन: मतदान केन्द्रमा उम्मेदवारको नाम लेखिएको चिट बोक्न प्रतिबन्ध, उल्लंघन गरे उम्मेदवारी नै खारेज हुने

रास्वपा महाधिवेशन: मतदान केन्द्रमा उम्मेदवारको नाम लेखिएको चिट बोक्न प्रतिबन्ध, उल्लंघन गरे उम्मेदवारी नै खारेज हुने

काठमाडौं। चितवनमा आजदेखि सुरु हुन लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनमा मतदान प्रक्रियालाई पूर्ण रूपमा व्यवस्थित, निष्पक्ष र मर्यादित बनाउन विशेष नियम लागू गरिएको छ। महाधिवेशनको मतदान प्रक्रियामा सहभागी हुने कुनै पनि प्रतिनिधिले उम्मेदवारको नाम वा सूची लेखिएको चिट साथमा लिएर मतदान केन्द्रभित्र प्रवेश गर्न नपाउने व्यवस्था गरिएको हो।

पार्टीको अनुशासन आयोगका पदाधिकारीहरूका अनुसार यदि कुनै प्रतिनिधिले उक्त नियमको उल्लंघन गर्दै चिट बोकेर मतदान गर्न गएको पाइएमा, त्यसको प्रत्यक्ष असर सम्बन्धित उम्मेदवारलाई पर्नेछ र ती उम्मेदवारको उम्मेदवारी नै खारेज हुन सक्ने कडा प्रावधान बनाइएको छ।

रास्वपाका नेता गणेश पराजुलीले मतदान प्रक्रियालाई कुनै पनि किसिमको बाह्य प्रभावबाट मुक्त राख्न, मर्यादित र अनुशासित बनाउन अनुशासन समितिले यस्तो कठोर कदम चालेको प्रष्ट पारेका छन्। उनले महाधिवेशनमा स्वच्छ र निष्पक्ष निर्वाचन सुनिश्चित गर्नका लागि सबै मतदाता तथा प्रतिनिधिलाई नियमको पूर्ण पालना गर्न विशेष आग्रह समेत गरेका छन्।

यसैबीच, आज भरतपुरमा भव्य रूपमा सुरु हुने महाधिवेशनको उद्घाटन समारोहमा विशेष राजनीतिक सरगर्मी बढेको छ। उद्घाटनसत्रलाई रास्वपाका सभापति रवि लामिछाने र प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता वालेन्द्र शाहले सम्बोधन गर्ने तयारी रहेको छ।

देशको ध्यान खिचिरहेको यस प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा सहभागी हुन देशका विभिन्न प्रमुख राजनीतिक दलका शीर्ष नेता तथा प्रतिनिधिहरू भरतपुर पुग्ने क्रम तीव्र बनेको छ।

महाधिवेशनमा ऐक्यबद्धता र शुभकामना आदानप्रदानका लागि नेपाली कांग्रेसका सभापति गगनकुमार थापा चितवन पुग्नुभएको छ। त्यस्तै, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवाली, नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुन र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन कार्यक्रमस्थलमा पुगिसकेका छन्।

यसैगरी, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउत पनि चितवन पुगिसकेका छन्, जसका कारण महाधिवेशनस्थल भरतपुरको माहोल निकै उत्साहजनक र राजनीतिक रूपमा अर्थपूर्ण देखिएको छ।

छुटाउनुभयो कि ?