काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा आफैँ सहभागी हुने भएका छन्।
चितवनको भरतपुरस्थित गेस्टहाउस चौरमा आज आयोजना हुन लागेको उक्त महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्य दिन सभापति थापा चितवन जान लागेको उनका स्वकीय सचिव शङ्कर कुइँकेलले जानकारी दिएका हुन्।
रास्वपाले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन प्रमुख विपक्षी दल नेपाली कांग्रेससहित विभिन्न राजनीतिक दलहरूलाई औपचारिक निमन्त्रणा पठाएको थियो।
सोही निमन्त्रणालाई स्वीकार गर्दै राजनीतिक सौहार्दता प्रकट गर्न कांग्रेस सभापति थापा आफैँ महाधिवेशन स्थलमा उपस्थित हुन लागेका हुन्। आज दिउँसो भव्य रूपमा सुरु हुने यस महाधिवेशनलाई राष्ट्रिय राजनीतिमा निकै चासोका साथ हेरिएको छ।