लेबनानमा इजरायली आक्रमणको विरोधमा इरानद्वारा पुनः होर्मुज जलमार्ग बन्दको घोषणा, अमेरिका-इरान शान्ति समझदारी संकटमा

लेबनानमा इजरायली आक्रमणको विरोधमा इरानद्वारा पुनः होर्मुज जलमार्ग बन्दको घोषणा, अमेरिका-इरान शान्ति समझदारी संकटमा

तेहरान। इरानले विश्वकै सबैभन्दा महत्त्वपूर्ण तेल ढुवानी मार्ग मानिने रणनीतिक 'होर्मुज जलडमरूमध्य' लाई पुनः जहाज आवतजावतका लागि बन्द गर्ने घोषणा गरेको छ । लेबनानमा इजरायली सेनाले जारी राखेको लगातारको हवाई तथा स्थलभाागको आक्रमणलाई मुख्य कारण देखाउँदै इरानको संयुक्त सैन्य कमाण्ड 'खाताम अल-अन्बिया' ले शनिबार सरकारी टेलिभिजनमार्फत उक्त कठोर निर्णय सार्वजनिक गरेको हो । इरानको यो कदमले अमेरिका र इरानबीच हालै युद्ध अन्त्यका लागि भएको ऐतिहासिक प्रारम्भिक समझदारीलाई कार्यान्वयनको चरणमा नपुग्दै ठुलो संकटमा धकेलिदिएको छ ।

इरानका अनुसार हालै जुन १५ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति मसउद पेजेस्कियानबीच हस्ताक्षर भएको १४ बुँदे प्रारम्भिक समझदारीको पहिलो सर्त नै लेबनानसहित सबै मोर्चामा तत्काल र स्थायी रूपमा सैन्य गतिविधि रोक्नु तथा लेबनानको सार्वभौमसत्ताको रक्षा गर्नु रहेको थियो ।

तर, वासिङ्टन आफ्नो प्रतिबद्धता कार्यान्वयन गराउन असफल भएको र इजरायलले दक्षिणी लेबनानमा युद्धविराम उल्लङ्घन गर्दै भीषण आक्रमण जारी राखेकाले सम्झौता विपरीत 'विश्वासघात' भएको तेहरानको दाबी छ । इरानी सैन्य कमाण्डले होर्मुज जलमार्ग बन्द गर्नु अमेरिका र इजरायलको बलमिच्याइँ विरुद्धको पहिलो कदम मात्र भएको र आक्रमण नरोकिए थप कडा कदमहरू चालिने चेतावनी दिएको छ ।

पछिल्लो समय अमेरिका, पाकिस्तान र कतार लगायतका मध्यस्थकर्ताहरूको पहलमा इजरायल र इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहबीच युद्धविरामको प्रयास गरिए पनि त्यो केही घण्टामै भंग भएको थियो । इजरायली सेनाले ड्रोन र तोपखाना प्रयोग गरी दक्षिणी लेबनानको कानारित लगायतका क्षेत्रमा लगातार आक्रमण गर्दा कम्तीमा १६ जनाको मृत्यु भइसकेको छ, जसका कारण कुल मृतकको संख्या ४ हजार नाघेको छ । यता इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफ्नो देशको सुरक्षामा कुनै सम्झौता नगर्ने अडान दोहोर्‍याउँदै गाजा र लेबनानमा इजरायलका सैन्य अभियानहरू जारी रहने र दक्षिणी लेबनानको कब्जा गरिएको क्षेत्रबाट आफ्ना सेना फिर्ता नहुने स्पष्ट पारेका छन् ।

होर्मुज जलमार्ग बन्द गर्ने इरानको घोषणा यस्तो समयमा आएको छ, जब आइतबारदेखि स्विट्जरल्याण्डमा अमेरिका र इरानबीच अन्तरिम सम्झौतालाई विस्तृत शान्ति सम्झौतामा बदल्न प्राविधिक तहको वार्ता सुरु हुँदैछ । अमेरिकी टोलीबाट जारेड कुश्नर र स्टिभ विटकफ वार्ताका लागि स्विट्जरल्याण्ड पुगिसकेका छन् भने अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पनि केही दिनमै त्यसतर्फ जाने बताएका छन् । तर इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाहीले लेबनानमा जारी युद्ध नरोकिएसम्म वार्तामा खासै प्रगति नहुने संकेत गर्नुभएको छ । हिजबुल्लाहले पनि इरानलाई इजरायलले पूर्ण रूपमा युद्धविराम र सेना फिर्ताको घोषणा नगरेसम्म जलमार्ग खोल्न नहुने सुझाव दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

यस घोषणाप्रति कडा प्रतिक्रिया दिँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि आगामी ६० दिनभित्र इरानसँग अन्तिम आणविक तथा शान्ति सम्झौता हुन नसकेमा अमेरिकाले होर्मुज जलमार्गमा आफ्नै ढङ्गले 'टोल ट्याक्स' (महसुल) उठाउने चेतावनी दिनुभएको छ । ट्रम्पले सामाजिक सञ्जालमा उक्त महसुल मध्यपूर्वी देशहरूको सुरक्षाका लागि अमेरिकाले निर्वाह गरेको 'गार्डियन एन्जल' (अभिभावक) को भूमिकाबापत लिइने जिकिर गर्नुभएको छ । यद्यपि, अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले भने शनिबार मात्रै ५५ वटा व्यापारिक जहाजहरू १७ मिलियन ब्यारेल तेल बोकेर उक्त जलमार्ग हुँदै सुरक्षित रूपमा बाहिरिएको र हालसम्म त्यहाँ जलमार्ग पूर्ण ठप्प भएको सैन्य गतिविधि नदेखिएको दाबी गरेको छ । विश्वको कुल तेल र तरल ग्यास आपूर्तिको झन्डै पाँचौँ हिस्सा यही साँघुरो जलमार्ग हुँदै अन्तर्राष्ट्रिय बजारमा पुग्ने भएकाले यसको बन्दले विश्व अर्थतन्त्र र ऊर्जा बजारमा तेलको मूल्य आकाशिने र ऐतिहासिक संकट निम्तिने भयले विश्व समुदाय चिन्तित बनेको छ ।

छुटाउनुभयो कि ?