काठमाडौं | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मंसिर २६ देखि २८ गतेसम्म काठमाडौंमा आफ्नो केन्द्रीय महाधिवेशन आयोजना गर्ने निर्णय गरेको छ। अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा असार ५ र ६ गते काठमाडौंमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले उक्त निर्णय गर्नुका साथै अध्यक्ष लिङ्देनकै संयोजकत्वमा केन्द्रीय महाधिवेशन मूल आयोजक समिति समेत गठन गरेको छ।
महाधिवेशनका लागि स्वीकृत कार्यतालिका अनुसार भदौ मसान्तभित्र जिल्ला अधिवेशन, असोज १५ देखि २४ गतेभित्र प्रदेश अधिवेशन तथा कार्तिक ११ देखि ३० गतेसम्म महाधिवेशन प्रतिनिधि चयन गरिसकिनेछ। बैठकले एउटा निर्वाचनको परिणामले मात्र पार्टीको भविष्य निर्धारण नगर्ने उल्लेख गर्दै स्वदेश तथा विदेशमा रहेका आफ्ना नेता, कार्यकर्ता र समर्थकलाई उच्च मनोबलका साथ संगठन विस्तारमा सक्रिय रहन आह्वान गरेको छ।
बैठकले वर्तमान सरकारको प्रारम्भिक कार्यसम्पादनमाथि गम्भीर प्रश्न उठाउँदै सुशासन, पारदर्शिता र जवाफदेहिताका विषयमा अपेक्षाअनुसार सुधार नदेखिएको निष्कर्ष निकालेको छ। परराष्ट्र नीतिमा स्पष्ट दृष्टिकोणको अभाव रहेकाले छिमेकी मुलुकसँग अविश्वासको वातावरण बढ्न सक्ने चेतावनी दिँदै राप्रपाले आर्थिक वर्ष २०८३/८४ को बजेटमा शिक्षा, स्वास्थ्य र विद्युतजस्ता आधारभूत क्षेत्रमा लगाइएका कर तत्काल फिर्ता लिन माग गरेको छ।
यसका साथै दैनिक उपभोग्य वस्तु र निर्माण सामग्रीको मूल्यवृद्धि नियन्त्रण गर्न तथा बजार अनुगमनलाई प्रभावकारी बनाउन पनि सरकारसँग आग्रह गरिएको छ। काठमाडौंका नदीकिनाराका बस्ती हटाउँदा वैकल्पिक आवास र पुनर्स्थापनाको व्यवस्था नगरिएको प्रति आपत्ति जनाउँदै राप्रपाले वास्तविक भूमिहीनलाई तत्काल पुनर्बासको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
साथै, निजी क्षेत्रमाथि भइरहेको धरपकडले लगानीको वातावरण बिग्रने भन्दै कानुनी शासन र संस्थागत नियमनलाई बलियो बनाउनुपर्ने धारणा बैठकले व्यक्त गरेको छ।