काठमाडौंमा ‘टोल टोलमा फिल्म महोत्सव’ सुरु, 'इलिफेन्ट इन द फग' टोलीलाई १० लाखसहित सम्मान

काठमाडौंमा ‘टोल टोलमा फिल्म महोत्सव’ सुरु, 'इलिफेन्ट इन द फग' टोलीलाई १० लाखसहित सम्मान

काठमाडौं महानगरपालिकाले शुक्रबार खुला मञ्चबाट ‘टोल टोलमा फिल्म महोत्सव’ को औपचारिक शुभारम्भ गरेको छ। नेपाली चलचित्र क्षेत्रको विकास र विस्तारमा योगदान दिँदै रचनात्मक उद्योग र समुदायलाई एकापसमा जोड्ने मुख्य उद्देश्यका साथ महानगरले यो नयाँ अभियान थालेको हो।

महोत्सवको उद्घाटनका अवसरमा खुला मञ्चमा अमन शाही निर्देशित लघु चलचित्र ‘नन्द’, ताराङ निर्देशित ‘सवारी साहित्य’ र इशान भुषाल निर्देशित ‘पेन्गुइन रिभोलुसन’ प्रदर्शन गरिएका छन्। काठमाडौं माउन्टेन इन्टरनेशनल फिल्म फेस्टिभल (किम्फ) सँगको सहकार्यमा प्राप्त भएका यी चलचित्रहरूको प्रदर्शनसँगै महोत्सवको रौनक सुरु भएको छ।

यस ऐतिहासिक फिल्म महोत्सवका विभिन्न कार्यक्रमहरू असार महिनाभरि हरेक शुक्रबार र शनिबार काठमाडौंका विभिन्न डबली, चोक र खुला स्थानहरूमा सञ्चालन हुनेछन्। महोत्सव अवधिभर प्रदर्शन गरिने लघु चलचित्रहरू चलचित्र विकास बोर्ड, ब्रिटिस काउन्सिल नेपाल, युनेस्को, किम्फ र नेपाल फिल्म एकेडेमी जस्ता प्रतिष्ठित संस्थाहरूसँगको सहकार्यमा संकलन गरिएका हुन्।

कार्यक्रमको प्राविधिक पक्ष महानगरपालिका आफैँले व्यवस्थापन गरेको छ भने स्थानीय सङ्घसंस्थाहरूलाई खुला आव्हानमार्फत व्यवस्थापनको जिम्मेवारी सुम्पिएको छ। सोही अनुरूप शुक्रबारको पहिलो कार्यक्रम 'इकोज इन द भ्याली'ले व्यवस्थापन गरेको हो।

महोत्सवको तालिका अनुसार शनिबार असन क्षेत्रमा कार्यक्रम हुनेछ, जसको व्यवस्थापन नीलः सांस्कृतिक क्लवले गर्नेछ। यसैगरी आगामी दिनहरूमा येँःका पुचले बालाजु बाइपास क्षेत्रमा, निर्णय नेपालले बागबजार सडक खण्डमा, नेपाल भाषा स्यनेकने फाउण्डेसनले यट्खा बहाल भाष्करकीर्ति महाविहारमा, न्हुग पःला सांस्कृतिक मिसा पुचःले लगनटोलमा तथा मैतीदेवी युनाइटेड क्लवले मैतीदेवी मन्दिरको खुला चौरमा कार्यक्रम व्यवस्थापन गर्नेछन्। सार्वजनिक स्थल, पार्क, डवली र चोकहरूमा फिल्म महोत्सवका कार्यक्रम आयोजना गर्ने योजना अनुरूप नै महानगरले यी स्थानहरू छनोट गरेको हो।

यस महोत्सवमा लघु चलचित्रहरूको प्रदर्शनका साथै चलचित्र, कला तथा रचनात्मक उद्योग जस्ता विविध विषयमा खुला संवाद, सांस्कृतिक तथा सिर्जनात्मक कार्यक्रम र मौलिक खानाका परिकारसहितका स्टलहरू समेत राखिनेछन्। यसैबीच, फ्रान्सको प्रतिष्ठित कान्स फिल्म फेस्टिभलको 'अनसर्टेन रिगार्ड' विधामा ‘जुरी प्राइज’ र ‘वेस्ट साउण्ड क्रियसन’ अवार्ड जित्न सफल नेपाली कथानक चलचित्र ‘इलिफेन्ट इन द फग’ (तिनीहरू) को टिमलाई महोत्सवको उद्घाटन सत्रमा नगद १० लाख रुपियाँसहित विशेष सम्मान गरिएको छ।

छुटाउनुभयो कि ?