काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो आगामी केन्द्रीय महाधिवेशनको कार्यतालिका अनुमोदन गरेको छ। बिहीबार धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी मंसिर २६, २७ र २८ गते काठमाडौँमा महाधिवेशन आयोजना गर्ने निर्णयसहित सो कार्यतालिका सर्वसम्मत रूपमा पारित गरेको हो।
बैठकको निर्णयबारे जानकारी दिँदै पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय निर्वाचन समितिले तयार पारेको निर्वाचनसम्बन्धी नियमावली र निर्देशिकालाई आवश्यक परिमार्जनसहित बैठकले स्वीकृत गरेको बताए। महाधिवेशनलाई सुव्यवस्थित र लोकतान्त्रिक ढंगले सम्पन्न गर्नका लागि पार्टीले सांगठनिक तयारीलाई तल्लो तहदेखि नै तीव्रता दिने रणनीति बनाएको छ।
अध्यक्ष लिङ्देनका अनुसार कार्यसम्पादन समितिबाट पारित भएका यी सबै प्रस्तावहरू शुक्रबारदेखि सुरु हुने पार्टीको केन्द्रीय समितिको बैठकमा अनुमोदनका लागि पेश गरिनेछ। केन्द्रीय समितिले ती प्रस्तावहरूमाथि विस्तृत छलफल गरी महाधिवेशनको अन्तिम खाका र कार्ययोजना तयार पार्ने राप्रपाले जनाएको छ।