प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती, संसद्को रेकर्डबाट तत्काल हटाइयोस्: हर्क साम्पाङ

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती, संसद्को रेकर्डबाट तत्काल हटाइयोस्: हर्क साम्पाङ

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्कराज राईले प्रधानमन्त्रीले दिएको विवादास्पद अभिव्यक्ति तत्काल संसद्को रेकर्डबाट हटाउन जोडदार माग गरेका छन्। बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद राईले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति ‘राष्ट्रघाती’ भएको टिप्पणी गर्दै त्यसलाई प्रधानमन्त्री स्वयंले सदनमा उपस्थित भएर सच्याउनुपर्ने बताए।

विपक्षी दलहरूले निरन्तर रूपमा यो माग उठाइरहे पनि सरकारले सुनुवाइ नगरेको भन्दै उनले यसबाट सदनको गरिमामा आँच पुगेको गुनासो गरे। प्रधानमन्त्रीले आफ्नै मुखबाट उक्त गैरजिम्मेवारपूर्ण भनाइ नसच्याएसम्म आफ्नो पार्टीको विरोध यथावत् रहने उनले संसद्‌मा स्पष्ट पारे।

संसद् सम्बोधनकै क्रममा सांसद राईले नेपालमा लामो समयदेखि रहेका भुटानी शरणार्थीहरूको मानवीय समस्याप्रति पनि सरकार र सम्बन्धित मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराए। दशकौँदेखि कष्टकर शरणार्थी जीवन बिताइरहेका भुटानी नागरिकहरूले कि त ससम्मान स्वदेश फिर्ती पाउनुपर्ने कि तेस्रो मुलुकमा रहेका आफ्ना परिवारका सदस्यहरूसँग पुनर्मिलन हुन पाउनुपर्ने माग गरिरहेको उनले उल्लेख गरे।

आफ्नो मातृभूमि छोडेर शरणार्थीका रूपमा बाँच्न बाध्य मानिसहरूको पीडालाई राज्यले उपेक्षा गर्न नमिल्ने भन्दै उनले उनीहरूलाई स्वदेश फिर्ता पठाउन कूटनीतिक पहल गर्न वा परिवार मिलनका लागि अन्य राष्ट्र पठाउने उचित व्यवस्था मिलाउन सरकारसँग आग्रह गरे।

यसैगरी, बैठकमा रक्षा मन्त्रालयअन्तर्गतको बजेट छलफल भइरहँदा विभागीय मन्त्री नै अनुपस्थित भएको र मन्त्रालयको बजेट पुस्तिका (रेड बुक) समेत उपलब्ध नगराइएको भन्दै सांसद राईले कडा आपत्ति जनाए। देशको संवेदनशिल अङ्ग मानिने रक्षा मन्त्रालयको खर्च विवरण समावेश भएको पुस्तक सांसदहरूलाई वितरण नगर्नु लोकतान्त्रिक अभ्यास विपरीत भएको भन्दै उनले सभामुखमार्फत सरकारसँग यसको चित्तबुझ्दो जवाफ माग गरेका छन्।

छुटाउनुभयो कि ?