घरमा कोही नभेटिएपछि भग्नावशेषमै म्याद टाँसियो: तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवा अख्तियारको अनुसन्धानमा

घरमा कोही नभेटिएपछि भग्नावशेषमै म्याद टाँसियो: तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवा अख्तियारको अनुसन्धानमा

काठमाडाैं। गत वर्षको ई-पासपोर्ट (विद्युतीय राहदानी) खरिद प्रक्रियामा भएको भनिएको गम्भीर अनियमितताको विषयलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई अनुसन्धानको बलियो दायरामा ल्याएको छ।

यसै सिलसिलामा आयोगको अनुसन्धान अधिकृतको टोलीले बुधबार बूढानीलकण्ठस्थित देउवा निवासको भग्नावशेषमा पुगेर ‘बयानका लागि हाजिर हुन आउनु’ भन्दै म्याद तामेल गरेको छ।

कानूनी प्रक्रिया अनुसार बयानका लागि झिकाउनुपर्ने व्यक्ति सम्पर्कमा नआएमा उसको स्थायी ठेगानामा म्याद तामेल गर्नुपर्ने प्रावधान बमोजिम अख्तियारले यो कदम चालेको हो। बूढानीलकण्ठ नगरपालिका–२ का वडाध्यक्ष राजेन्द्र श्रेष्ठले भग्नावशेष भइसकेको देउवा निवास परिसर बाहिर अख्तियारको टोलीले बयानका लागि डाकेको म्याद तामेल गरेको विषयलाई पुष्टि गरेका छन्।

म्याद तामेल गर्ने प्रक्रियामा स्थानीय वडाका जनप्रतिनिधिहरूको अनिवार्य उपस्थिति आवश्यक पर्ने भएकाले वडाध्यक्षसहितको टोली त्यहाँ उपस्थित भएको थियो।

त्यस क्रममा बूढानीलकण्ठस्थित निवासमा देउवा परिवारका कोही पनि सदस्य फेला नपरेपछि अख्तियारको टोलीले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवालाई फोनमार्फत म्याद तामेल गरिएको जानकारी गराएको वडाध्यक्ष श्रेष्ठले बताएका छन्।

तत्कालीन परराष्ट्रमन्त्री देउवाको प्रत्यक्ष हस्तक्षेपका कारण योग्यता नपुगेको र बढी रकम कबुल गरेको कम्पनीले ई-पासपोर्टको ठेक्का पाएको आशंकामा अख्तियारले यस विषयमा गम्भीर अनुसन्धान अघि बढाइरहेको छ। घरमै म्याद टाँसेर बयानका लागि बोलाउँदा समेत उपस्थित नभएमा अब कस्तो कानूनी कदम चाल्ने भन्ने विषयमा अख्तियारभित्र आन्तरिक छलफल र रणनीति तय भइरहेको बुझिएको छ।

गत २१ फागुनको प्रतिनिधिसभा निर्वाचनअघि नै उपचारको सिलसिलामा सिंगापुर प्रस्थान गरेका देउवा दम्पती हालसम्म नेपाल फर्किएका छैनन्। उनीहरूले दुई दिनअघि मात्रै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र विशेष अदालतमा पत्र पठाउँदै आफूहरू दुई महिनापछि मात्र नेपाल फर्किने जानकारी गराएका थिए।

छुटाउनुभयो कि ?