काठमाडौं। प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले नेपाल–भारत सीमाका सम्बन्धमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति र काठमाडौँका होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरूको अवस्थालाई लिएर सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।
बैठकको सुरुमै सभामुखसँग समय लिएर श्रम संस्कृति पार्टीका सांसद हर्कराज राई (साम्पाङ) ले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति संसद्मा प्रष्ट पार्न आग्रह गरे। साथै, उनले काठमाडौँका विभिन्न ‘होल्डिङ सेन्टर’ मा राखिएका सुकुम्बासीहरूको उचित बन्दोबस्ती र व्यवस्थापन गर्न सरकारसँग माग गरे।
बैठकमा नेपाली कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्माले संविधानले सरकारलाई संसद्प्रति उत्तरदायी बनाएको स्मरण गराउँदै प्रधानमन्त्रीको सीमा सम्बन्धी धारणाका विषयमा ‘रुलिङ’ गर्न र प्रधानमन्त्री स्वयं संसद्मा आएर आफ्नो धारणा सच्याउन माग गरे।
उनले सरकारका मन्त्रीहरूबाटै विभिन्न स्थानमा गैरजिम्मेवार अभिव्यक्ति आइरहेको भन्दै त्यस्ता मन्त्रीहरूलाई जिम्मेवार बनाउनुपर्ने धारणा राखे। त्यस्तै, नेकपा (एमाले) का सांसद कृपाराम रानाले लिपुलेक, कालापानी, लिम्पियाधुरा र सुस्तालगायतका स्थानमा नेपाली भूमि अतिक्रमण भएको उल्लेख गर्दै देशभन्दा माथि कोही हुन नसक्ने बताए। उनले पनि सुकुम्बासीहरू राखिएको होल्डिङ सेन्टरमा मानवोचित व्यवहार नभएको भन्दै सरकारको ध्यानाकर्षण गराए।
सभामुखको आचरणमाथि संसद्मा भनाभन
यसैगरी, नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवले पनि नेपाल–भारत सीमाका सम्बन्धमा प्रधानमन्त्रीले सदनमार्फत दिएको अभिव्यक्तिको आलोचना गर्दै त्यसलाई सच्याउनुपर्ने तर्क गरे। सोही क्रममा उनले सभामुखको भूमिकामाथि समेत प्रश्न उठाएका थिए।
सभामुख कुनै पनि पार्टीको सदस्य नरही स्वतन्त्र भूमिकामा रहनुपर्ने व्यवस्था उल्लेख गर्दै सांसद यादवले भने, “के सभामुख महोदयले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग रहेको सम्बन्धको नाभी काट्न सक्नुभएको छैन कि क्या हो ?”
सांसद यादवको उक्त अभिव्यक्तिप्रति सत्तारुढ दल रास्वपाका सांसद गणेश कार्कीले नियमावलीको व्यवस्था विपरीत सभामुखको आचरणको आलोचना गरिएको भन्दै तत्कालै नियमापत्ति गरे। सांसद कार्कीको नियमापत्ति लगत्तै सभामुख डोलप्रसाद अर्यालले सांसद यादवको अभिव्यक्तिका सम्बन्धमा आफ्नो ध्यानाकर्षण भएको संसद्लाई जानकारी गराएका छन्।