काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले सरकारले सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको बस्तीमा डोजर चलाएर नागरिकहरूलाई विचल्लीमा पारेको भन्दै आपत्ति जनाएका छन्। बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद साम्पाङले बेघर बनेका नागरिकहरूको तत्काल व्यवस्थापन गर्न सरकारसँग माग गरे।
होल्डिङ सेन्टरमा गाँस र वासको संकट
प्रधानमन्त्रीकै निर्देशनमा सुकुम्बासी बस्तीहरू भत्काइएको आरोप लगाउँदै उनले अहिले विस्थापित नागरिकहरू कठीन अवस्थामा बाँचिरहेको संसद्लाई जानकारी गराए।
बैठकमा बोल्दै सांसद साम्पाङले भने:
"प्रधानमन्त्रीकै निर्देशनमा सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका बस्तीमा डोजर चलाइयो र उनीहरूलाई बेघर बनाइयो। हाल उनीहरू कीर्तिपुर लगायतका स्थानमा रहेका होल्डिङ सेन्टरमा बस्न बाध्य छन्, जहाँ खाना र पानीको समेत चरम अभाव छ। होल्डिङ सेन्टरमा रहेका व्यक्तिहरू पनि नेपाली नागरिक नै भएकाले उनीहरूको आधारभूत आवश्यकता पूरा गर्न सरकार गम्भीर हुनुपर्छ।"
प्रधानमन्त्रीले संसद्मा जवाफ दिनुपर्ने माग
सांसद साम्पाङले संसद्को ‘सेकेन्ड लट’ (दोस्रो चरण) सुरु गर्ने समय भइसकेको उल्लेख गर्दै सरकारको ध्यान सुकुम्बासी समस्याको दीर्घकालीन समाधानतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए।
साथै, प्रधानमन्त्रीले यसअघि दिएको सिमाना सम्बन्धी अभिव्यक्तिप्रति आफ्नो दलको असहमति कायम रहेको उनले स्पष्ट पारे। उक्त विवादित अभिव्यक्तिलाई संसद्को अभिलेख (रेकर्ड) बाट हटाउनुपर्ने माग दोहोर्याउँदै उनले प्रधानमन्त्री स्वयं संसद्मा उपस्थित भएर यसबारे उठेका प्रश्नहरूको जवाफ दिनुपर्ने अडान समेत राखे।