काठमाडौँ: पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणाले आगामी साउन २८ गतेभित्र नेपाल फर्किने जानकारी सरकारलाई गराएका छन्।
गत जेठ २८ गते इमेलमार्फत पत्राचार गर्दै उनीहरूले दुई महिनाभित्र नेपाल फर्किएर सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अनुसन्धानमा पूर्ण रूपमा सहयोग गर्न तयार रहेको स्पष्ट पारेका हुन्। देउवाले विभागका महानिर्देशकलाई सम्बोधन गरेर उक्त इमेल पठाएको स्रोतले जानकारी दिएको छ।
पठाइएको पत्रमा हाल आफूहरू स्वास्थ्य उपचारका क्रममा मुलुकबाहिर रहेको अवस्थामा 'देश छाडेर भागेको र अनुसन्धानमा उपस्थित नभएको' जस्ता गलत भाष्य सिर्जना नगर्न सरकारसँग आग्रह गरिएको छ। साथै, यस्ता भ्रम फैलाएर पक्राउ पुर्जी जारी गर्ने तथा नेपाल प्रवेश गर्न कठिनाइ हुने वातावरण नबनाइदिन समेत उनीहरूले सरकारसँग विशेष अनुरोध गरेका छन्।
पूर्वप्रधानमन्त्री देउवा र आरजु राणा गत २०८२ साल फागुन १३ गते सिंगापुरतर्फ प्रस्थान गरेका थिए। उपचारका क्रममा रहेका उनीहरू हाल कुन देशको कुन ठाउँमा छन् भन्नेबारे आधिकारिक जानकारी भने कतै खुलाइएको छैन।
अनुसन्धान गरिरहेको सरकारी निकायलाई दुई महिनाभित्रै उपस्थित हुने लिखित प्रतिबद्धता आएपछि यस प्रकरणले नयाँ मोड लिएको छ।