काठमाडौं। राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र सूचना प्रविधि निर्देशक सुनिलकुमार केसीलाई विशेष अदालतले चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
राहदानी छपाइसम्बन्धी कार्यमा भ्रष्टाचारजन्य कसुर गरेको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरू दुवैजनालाई मंगलबार बिहानै नियन्त्रणमा लिएको थियो। पक्राउ लगत्तै अख्तियारले उनीहरूविरुद्धको छानबिनलाई अघि बढाउन विशेष अदालतसँग २० दिनको थुना म्याद माग गरेको थियो।
विशेष अदालतका प्रवक्ता हरिशरण लामिछानेका अनुसार अख्तियारले सो अवधि माग गरे तापनि अदालतले सुरुवाती अनुसन्धानका लागि चार दिन मात्र हिरासतमा राख्ने अनुमति दिएको हो। राहदानी छपाइ प्रक्रियामा भएको भनिएको अनियमितता र भ्रष्टाचारको विषयमा अख्तियारले उनीहरूमाथि विस्तृत अनुसन्धान गरिरहेको छ।