काठमाडौं। प्रतिनिधिसभाका सांसदहरूले नेपालको सिमाना र छिमेकी मुलुकहरूसँगको द्विपक्षीय सम्बन्धका बारेमा संवेदनशील हुन सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा बोल्दै उनीहरूले सीमा क्षेत्रमा देखिएका विविध समस्याहरूको दीर्घकालीन समाधानका लागि तत्काल कदम चाल्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन्।
विशेष गरी प्रधानमन्त्री वालेन्द्र शाहले गत जेठ १७ गते सिमानाका सम्बन्धमा संसद्मा दिनुभएको अभिव्यक्तिप्रति सांसदहरूले कडा आपत्ति जनाउँदै उक्त विवादित भनाइलाई संसद्को अभिलेखबाट हटाउन वा फिर्ता लिन माग गरेका छन्।
बैठकमा विभिन्न राजनीतिक दलका सांसदहरूले सीमा मिचिएका र सुरक्षा उल्लंघन भएका घटनाहरूलाई जोडदार रूपमा उठाएका छन्।
नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रमेशकुमार हमालले नेपालको सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी प्रवेश गरेको, दार्चुलाको नेपाली आकाशमा बिना अनुमति भारतीय हेलिकोप्टर उडेको र भारततर्फको चिया निर्यातमा अवरोध देखिएको भन्दै सरकारको उदासीनताप्रति प्रश्न उठाए।
यसका साथै उनले परराष्ट्रमन्त्री शिशिर खनालको हालै भएको चीन भ्रमणका क्रममा त्रिपक्षीय सीमाका विषयमा छलफल भए/नभएको विषय संयुक्त वक्तव्यमा नदेखिएको भन्दै त्यसबारे स्पष्ट पार्न सरकारसँग माग गरे।
उनले जारी फिफा विश्वकप फुटबल हेर्नका लागि सर्वसाधारणले अतिरिक्त रकम तिर्नुपर्ने बाध्यता रहेकाले त्यसलाई निःशुल्क हेर्ने व्यवस्था मिलाउनसमेत आग्रह गरे।
यसैगरी, नेपाली कांग्रेसका सांसद रेखाकुमारी यादवले पनि प्रधानमन्त्री शाहको जेठ १७ गतेको सीमासम्बन्धी अभिव्यक्तिबारे सरकारले तत्काल स्पष्टीकरण दिनुपर्ने माग गर्दै सुस्तालगायतका क्षेत्रमा देखिएका समस्या सुल्झाउन आग्रह गरिन्।
नेकपा (एमाले)का सांसद टुका भद्रा हमालले राष्ट्र र राष्ट्रियताभन्दा ठूलो अरू केही हुन नसक्ने भन्दै नेपाली भूभागको संरक्षणमा सरकार दृढतापूर्वक उभिनुपर्ने र विवादित अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइनुपर्ने कुरामा जोड दिइन्।
बैठकमै श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले भारतले सीमा क्षेत्रमा एकतर्फी रूपमा बाँध बनाएका कारण रौतहटको गौर बजार बर्सेनि डुबानको चपेटामा पर्ने गरेको भन्दै यो समस्या समाधानका लागि सरकारलाई संवेदनशील हुन आग्रह गरे। .
उनले राजविराजका कतिपय क्षेत्रमा स्थानीयले लामो समयदेखि जग्गा धनीपुर्जा पाउन नसकेको भूमि सम्बन्धी समस्यामा पनि सम्बन्धित निकायको ध्यान जानुपर्ने बताए।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद सरस्वती लामाले देशको भौगोलिक अखण्डता र राष्ट्रियताको सवालमा सरकार कुनै पनि हालतमा गम्भीर हुनुपर्ने धारणा राख्दै प्रधानमन्त्रीले सिमानाका सम्बन्धमा दिएको अभिव्यक्ति फिर्ता गर्न माग गरे।