काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद्का दुई सदस्यसँग अँगालो हालेर सामाजिक सञ्जालमा पोस्ट गरेको एउटा तस्बिर र त्यसको क्याप्सनलाई लिएर राजनीतिक तथा सामाजिक वृत्तमा तीव्र आलोचना र व्यङ्ग्य सुरु भएको छ।
प्रधानमन्त्री शाहले आइतबार साँझ फेसबुकमा गृहमन्त्री सुधन गुरुङ र पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई दायाँबायाँ राखेर अँगालो हालेको तस्बिर सार्वजनिक गर्दै उनीहरूलाई 'देश बनाउने टोली' को संज्ञा दिएका थिए।
१८ सदस्यीय मन्त्रिमण्डल तथा संसद्मा १८२ सिट रहेको सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेतासमेत रहनुभएका प्रधानमन्त्रीले आफ्ना दुई विश्वासपात्रलाई मात्रै 'देश बनाउने टिम' भनी प्रस्तुत गरेपछि विभिन्न टीकाटिप्पणी भइरहेका बेला तस्बिरमा रहेका पूर्वाधारमन्त्री लम्सालको एउटा अराजक अभिव्यक्ति सार्वजनिक भएको हो।
प्रधानमन्त्रीले 'देश बनाउने टोली' भनेर चिनाएका पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले निर्माणाधीन नागढुंगा-मुग्लिङ सडक आयोजनाको स्थलगत अनुगमनका क्रममा निर्माण व्यवसायीप्रति लक्षित गर्दै तल्लो स्तरको धम्कीपूर्ण भाषा प्रयोग गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
पृथ्वी राजमार्गअन्तर्गत नौबिसे-मलेखु सडकखण्डको निरीक्षणका क्रममा मन्त्री लम्सालले सडकबाट बिजुलीको पोल हटाउन ढिलाइ गर्ने ठेकेदारलाई खोजेर ल्याउन र काम नगरे खुट्टा भाँचिदिन सुरक्षा अधिकारीहरूकै अगाडि निर्देशन दिएका थिए। मन्त्री लम्सालले ‘जो यो बिजुलीको पोलवाला कन्ट्याक्टर हो, उसलाई कहाँ छ खोजेर ल्याउनू र फेरि काम गरेन भने खुट्टा भाँच्दिनू, मतलब भएन’ भन्दै धम्क्याएको प्रत्यक्षदर्शीले बताएका छन्।
मन्त्रीले यस्तो अराजक निर्देशन दिइरहँदा धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयसहितका सुरक्षा अधिकारीहरू समेत साथैमा रहेका थिए। यद्यपि, प्रमुख जिल्ला अधिकारी पाण्डेयले भने मन्त्रीको मुख्य आशय बाटो छिटो बनोस् भन्ने मात्र रहेको दाबी गर्दै आफूले खुट्टा भाँच्ने कुरा नसुनिएको जिकिर गरेकी छन्।
आयोजनाका कर्मचारीहरूका अनुसार नागढुंगादेखि मुग्लिनसम्मको खण्डमा बिजुलीका पोल सार्नका लागि मात्रै १२ करोड रुपैयाँभन्दा बढी खर्च हुने अनुमान गरिएको छ, जसमध्ये पूर्वी खण्डको ६ करोडमध्ये ५ करोड रुपैयाँ नेपाल विद्युत् प्राधिकरणलाई भुक्तानी भइसकेको छ।
प्राधिकरणले सोहन कन्स्ट्रक्सनलाई पोल सार्ने जिम्मा दिएको भए पनि ठेकेदारले ढिलाइ गर्दा सडक निर्माणमा अवरोध पुगेको ब्रिफिङ सुनेपछि मन्त्री लम्साल आवेशमा आएको बुझिएको छ।
मन्त्री लम्सालको यो शैली प्रधानमन्त्री बालेन्द्र शाहले निर्वाचनअघि प्रयोग गरेको भाषासँग मिल्दोजुल्दो छ, जतिबेला तत्कालीन रास्वपाका वरिष्ठ नेताका रूपमा शाहले धनगढीको चुनावी सभामा 'ठेकेदारलाई रूखमा बाँधेर वा खोरमा जाकेर भए पनि बाटो बनाउनुपर्ने' अभिव्यक्ति दिएका थिए।
करिब ९५ किलोमिटर दूरीको यो सडकलाई तीनवटा प्याकेजमा वर्गीकरण गरेर स्तरोन्नति गरिँदै छ। यसअघि पनि मन्त्री लम्सालकै निर्देशनमा वैशाख २८ गते निर्माण व्यवसायी शर्मा एण्ड कम्पनीका सञ्चालक रमेश शर्मालाई प्रहरी लगाएर सिंहदरबार पुर्याइएको थियो, जहाँ निर्माणमा भएको प्राविधिक अवरोधबारे जानकारी पाएपछि मन्त्रालयका सचिवले माफी माग्दै उनलाई छाडेका थिए।
मन्त्री जस्तो जिम्मेवार पदमा बसेर कानुन हातमा लिने गरी आएको यो अभिव्यक्तिको चौतर्फी भर्त्सना भइरहेको छ। नेपाल निर्माण व्यवसायी महासंघले मन्त्रीको भनाइप्रति कडा आपत्ति जनाउँदै सम्झौताबमोजिम काम नगर्ने ठेकेदारलाई कानुनी कारबाही गर्ने ठाउँ हुँदाहुँदै भौतिक आक्रमणको निर्देशन दिनु निन्दनीय भएको ठहर गरेको छ। राजनीतिक नेतृत्व र सुरक्षा निकायबाट पनि यसमा कटाक्ष सुरु भएको छ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले एक भिडियो सन्देशमार्फत प्रधानमन्त्री बालेन्द्र शाहलाई आफ्ना मन्त्रीहरूको बोलीमा लगाम लगाउन गम्भीर सुझाव दिनुभएको छ।
अराजक समाज निर्माणतर्फ देशलाई लैजान नहुने भन्दै शर्माले मन्त्रीहरूको अराजक शैली रोक्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको हो। यसैगरी, नेपाल प्रहरीका पूर्वआइजिपी चन्द्रकुवेर खापुङले समेत मन्त्रीको सो अभिव्यक्तिको आलोचना गर्दै ‘कानुनबमोजिम नै त होला नि मन्त्रीज्यूको आदेश’ भन्दै व्यङ्ग्यात्मक टिप्पणी गरेका छन्। मन्त्रीको विवादित अभिव्यक्ति र प्रधानमन्त्रीको 'देश बनाउने टोली' को फेसबुक पोस्ट एकापसमा जोडिएपछि सामाजिक सञ्जालमा सरकारमाथि व्यङ्ग्यात्मक प्रतिक्रियाको ओइरो लागेको छ।