काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले पशुपति क्षेत्रको धर्म, संस्कृति र परम्परामा प्रतिकूल असर पर्ने गरी सरकारले गरेका निर्णयहरू तत्काल सच्याउनुपर्ने माग गरेका छन्।
शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति थापाले स्थानीय संवेदनशीलता र मौलिकतालाई बेवास्ता गरी गरिएका निर्णयले दीर्घकालीन संकट निम्त्याउन सक्ने चेतावनी दिए। पशुपति क्षेत्रका जात्रा, पर्व र ऐतिहासिक बस्तीको आफ्नै विशिष्ट महत्त्व रहेको उल्लेख गर्दै उनले सिंहदरबारबाट गरिने निर्णयले यहाँको वास्तविक संवेदनशीलतालाई सम्बोधन गर्न नसकेको टिप्पणी गरे।
पछिल्लो समय सरकारले गरेका केही निर्णयका कारण यहाँको धर्म, संस्कृति, परम्परा तथा जात्रा–पर्वहरू प्रभावित हुने हुन् कि भन्ने चिन्ता जनप्रतिनिधि तथा स्थानीय समुदायमा देखिएको थापाले बताए। यस्ता विषयको गाम्भीर्यता नबुझी गरिएका निर्णयले कुनै एक व्यक्ति वा परिवारलाई मात्र नभई सम्पूर्ण समुदाय र सांस्कृतिक सम्पदालाई नै असर पार्ने उनको भनाइ थियो।
विशेष गरी पशुपति क्षेत्रमा कार्यरत जनशक्तिलाई श्रेणीविहीन बनाउने सरकारी निर्णयप्रति लक्षित गर्दै उनले यसबाट ती परिवारले परम्परा धान्न नसक्ने र अन्ततः सांस्कृतिक विरासत नै समाप्त हुन सक्ने चिन्ता व्यक्त गरे। मठ–मन्दिर, बस्ती, जात्रा–पर्व र परम्परासँग जोडिएका हरेक स्थान र समुदायको आफ्नै इतिहास हुने भन्दै थापाले बाहिरबाट हेर्दा सामान्य देखिने निर्णयले पनि दीर्घकालीन रूपमा सांस्कृतिक पहिचानमा गम्भीर असर पार्ने उल्लेख गरे। परम्परागत जिम्मेवारी निर्वाह गर्दै आएका व्यक्तिहरू र समुदायहरूलाई कमजोर बनाइयो भने भविष्यमा ती परम्परा जोगाउन कठिन हुने उनको जिकिर थियो।
लोकतन्त्रमा सरकारले आफ्ना निर्णयलाई प्रतिष्ठाको विषय बनाउन नहुने भन्दै सभापति थापाले सरकारले स्थानीय बासिन्दासँग गरेका पुराना बाचा र सम्झौताहरू कार्यान्वयन नगरी बस्ती खाली गराउनु न्यायसंगत नभएको बताए। यस विषयमा वडा तथा स्थानीय तहले सम्बन्धित निकायमा ध्यानाकर्षण गराइसकेको र आफूहरूले पनि यसलाई निरन्तर उठाइरहने उनले प्रतिबद्धता जनाए।
लोकतन्त्रमा सरकारले गरेका निर्णयहरू आवश्यक परे पुनर्विचार गर्न सक्नुपर्ने र नागरिकबाट प्रश्न उठेपछि निर्णय सच्याउनु वा परिवर्तन गर्नु कमजोरी नभई जिम्मेवार शासनको उदाहरण भएको उनले प्रष्ट पारे।
साना ठानिएका यस्ता समस्याले भविष्यमा समाजमा ‘भुसको आगो’ जस्तै द्वन्द्व फैलाउन सक्ने चेतावनी दिँदै नेता थापाले सम्बन्धित मन्त्रालयलाई आफ्ना निर्णयमाथि पुनर्विचार गर्न आग्रह गरे। यहाँका बस्ती, परम्परा र सांस्कृतिक सम्पदासँग सम्बन्धित पछिल्ला निर्णयहरूको पुनरावलोकन गर्न सरकारका सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउँदै उनले समयमै यो संवेदनशीलता नबुझिए भविष्यमा असन्तोष र द्वन्द्व बढ्ने बताए।
स्थानीय वडा र जनप्रतिनिधिले यी विषयमा निरन्तर आवाज उठाउँदै आएको स्मरण गराउँदै थापाले सरकारले आफ्ना कमजोरी सच्याउनेमा आफू अझै विश्वस्त रहेको र तत्कालका लागि गम्भीर ध्यानाकर्षण मात्र गराउन चाहेको उल्लेख गरे।