काठमाडौं। पश्चिम नवलपरासीको नेपाली भूमि सुस्ता क्षेत्रमा शुक्रबार हतियारसहित भारतीय सीमा सुरक्षा बल (एसएसबी) का सुरक्षाकर्मीहरू प्रवेश गरेपछि स्थानीयवासी र भारतीय सुरक्षाकर्मीबिच्छ तीव्र विवाद उत्पन्न भएको छ।
सीमा क्षेत्र पार गरेर नेपाली भूभागभित्र एसएसबीको टोली प्रवेश गरेपछि आफ्नो थातथलोको रक्षाका लागि स्थानीयवासीहरू स्वतःस्फूर्त रूपमा प्रतिकारमा उत्रिएका हुन्। स्थानीय प्रत्यक्षदर्शीका अनुसार शुक्रबार बिहानैदेखि एसएसबीको टोली नियतवश गस्तीका नाममा नेपाली भूमिमा अगाडि बढेको थियो।
नेपाली नागरिकहरूले आफ्नो सिमानाभित्र विनाअनुमति प्रवेश नगर्न आग्रह गर्दा र सीमा मिचेको कुरा उठाउँदा पनि भारतीय सुरक्षाकर्मीहरूले स्थानीयको कुरालाई बेवास्ता गर्दै नेपाली भूमिमै अडान लिइरहेका थिए।
हतियारसहित उपस्थित भएका एसएसबीका जवानहरूले बलजफ्ती गर्न खोजेपछि आक्रोशित बनेका सुस्तावासीहरूले आफ्नो भूमिबाट फिर्ता जान माग गर्दै चर्को नाराबाजी समेत गरेका थिए।
प्रतिकारका क्रममा एक स्थानीयवासीले आक्रोश पोख्दै भारतीय सुरक्षाकर्मीलाई ‘यो बिहार होइन, तिमीहरू यहाँ बारम्बार किन आउँछौ?’ भन्दै प्रतिप्रश्न गरेका थिए।
ऐतिहासिक रूपमा सुस्ता क्षेत्र नेपाल र भारतबिचको सबैभन्दा विवादित र संवेदनशील सीमा विन्दुहरूमध्ये एक हो। नारायणी नदीले समय-समयमा आफ्नो बहाव परिवर्तन गर्दा सिर्जना भएको भौगोलिक अस्पष्टताको फाइदा उठाउँदै भारतीय पक्षले लामो समयदेखि सुस्ताको हजारौं हेक्टर नेपाली भूमिमाथि अतिक्रमण र दाबी गर्दै आएको छ।
यहाँका नागरिकहरूले दशकौँदेखि आफ्नो नेपाली पहिचान र भूमिको रक्षाका लागि अग्रपङ्क्तिमा रहेर लड्दै आएका छन्। तर, नेपाली पक्षका सम्बन्धित सरकारी निकाय तथा प्रशासनिक नेतृत्वले यस गम्भीर विषयमा स्थायी कूटनीतिक समाधान खोज्न पर्याप्त चासो नदिएको भन्दै सुस्तावासीहरूले गम्भीर गुनासो पोखेका छन्।
भारतीय पक्षको लगातारको दादागिरी र नेपाली राज्यको उदासीनताका कारण आफूहरू दुवैतर्फबाट मारमा परिरहेको र सीमा क्षेत्रमा सधैँ असुरक्षित महसुस गर्नुपरेको पीडा स्थानीयले व्यक्त गरेका छन्।