आक्रमण रोक्दै वार्ताको टेबलमा ट्रम्प, कच्चा तेलको मूल्य घट्यो

आक्रमण रोक्दै वार्ताको टेबलमा ट्रम्प, कच्चा तेलको मूल्य घट्यो

वासिंटन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने भनिएको नियोजित सैन्य आक्रमण रद्द गरेको घोषणा गर्दै दुई देशबिच जारी युद्ध अन्त्यका लागि प्रारम्भिक सम्झौताको निकै नजिक पुगेको दाबी गरेका छन्।

बिहीबार ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले वासिङ्टन र तेहरानबिच युद्ध रोक्ने विषयमा एउटा ठुलो सहमति भएको उल्लेख गरे। यसअघि उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै इरानको सर्वोच्च नेतृत्वसँग उच्च तहमा छलफल भई विषयहरू स्वीकृत भइसकेकाले आफूले इन्धन निर्यातको मुख्य केन्द्र ‘खार्ग टापु’ र अन्य सैन्य अखडालाई लक्षित गरी तय गरिएका नयाँ हवाई आक्रमणहरू रोक्न निर्देशन दिएको जानकारी दिएका थिए।

तर, इरानको परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले भने यी रिपोर्टहरू अनुमानित मात्र भएको र अहिलेसम्म कुनै पनि कुरालाई अन्तिम रूप नदिइएको स्पष्ट पारेका छन्। तेहरानले अमेरिकी नीतिमा आउने निरन्तरको उतारचढाव र इजरायल–लेबनान युद्धविरामको मुद्दा जस्ता कारणले गर्दा वार्ता अझै जटिल चरणमै रहेको संकेत गरेको छ। रोचक कुरा के छ भने, यो सकारात्मक घोषणा गर्नुभन्दा केही घण्टा अघि मात्र राष्ट्रपति ट्रम्पले अमेरिकी सेनाको एउटा एपाचे हेलिकप्टर खसालिएको विषयलाई लिएर इरानमाथि “अत्यन्तै कडा” प्रहार गर्ने र खार्ग टापु कब्जा गर्ने चेतावनी दिएका थिए।

विगत साढे तीन महिनादेखि जारी यो सैन्य संकटको पृष्ठभूमि निकै तनावपूर्ण रहेको छ। गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले ‘अपरेशन एपिक फ्युरी’ अन्तर्गत इरानको आणविक केन्द्र, सैन्य पूर्वाधार र शीर्ष नेतृत्वलाई लक्षित गरी व्यापक हवाई आक्रमण गरेपछि दुई देशबिचको युद्ध उत्कर्षमा पुगेको थियो।

उक्त सुरुवाती आक्रमणमा इरानका सर्वोच्च नेता अली खामेनीको समेत मृत्यु भएको थियो। त्यसको जवाफी कारबाहीमा इरानले इजरायल र खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य आधार शिविरहरूमा क्षेप्यास्त्र प्रहार गर्नुका साथै विश्वकै प्रमुख ऊर्जा ढुवानी मार्गको रूपमा रहेको ‘स्ट्रेट अफ हर्म्युज’ ठप्प पारिदिएको थियो, जसका कारण विश्व बजारमा इन्धन संकट चुलिएको थियो।

यसअघि गत अप्रिल ८ मा पाकिस्तान र कतारको मध्यस्थतामा अमेरिका र इरानबिच एउटा अस्थायी युद्धविरामको सहमति भएको थियो। उक्त युद्धविरामलाई राष्ट्रपति ट्रम्पले अनिश्चितकालका लागि थप गरे तापनि दुवै पक्षबिच छिटपुट गोलाबारी र नौसैनिक गतिरोध जारी नै छ। यसै साता मात्रै पनि दुवै देशले एकअर्कामाथि जवाफी हवाई हमला गरेका थिए भने इरानले अमेरिकी ड्रोन खसालेको दाबी गरेको थियो।

तर, यी सैन्य तनावकाबिच पनि कतारी प्रतिनिधिमण्डलले तेहरानको भ्रमण गरी कूटनीतिक गतिरोध फुटाउन निरन्तर प्रयास गरिरहेको बुझिएको छ। कतारका अमीर शेख तमिम बिन हमाद अल–थानी र ट्रम्पबिच बिहीबार भएको टेलिफोन वार्तामा सम्झौताको मस्यौदा धेरै हदसम्म तयार भइसकेको र युरोपमा यसै साताको अन्त्यतिर उपराष्ट्रपति जेडी भान्सको उपस्थितिमा प्रारम्भिक हस्ताक्षर हुनसक्ने सम्भावना बढेको छ।

प्रस्तावित सम्झौताको खाका अनुसार अप्रिलको युद्धविरामलाई थप ६० दिनका लागि लम्ब्याइनेछ भने इरानले ‘स्ट्रेट अफ हर्म्युज’ पूर्ण रूपमा खुला गर्ने र आफ्नो उच्च संवर्द्धित युरेनियम नष्ट गर्न सहमत हुनुपर्ने अमेरिकी सर्त रहेको छ। ट्रम्पले इरानले कहिल्यै पनि आणविक हतियार बनाउन नपाउने गरी सम्झौता हुन लागेको र वर्षौँदेखिको संघर्षको मुख्य उद्देश्य नै यही भएको दाबी गरे।

ट्रम्पको यो सकारात्मक बयान सार्वजनिक भएलगत्तै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ, जसले विश्व अर्थव्यवस्थालाई केही राहत मिल्ने संकेत गरेको छ। यद्यपि, अमेरिकाले इरानी बन्दरगाहहरूमा लगाएको नौसैनिक नाकाबन्दी भने सम्झौता पूर्ण रूपमा कार्यान्वयन नभएसम्म जारी रहने बताएको छ।

धेरै पढिएको

छुटाउनुभयो कि ?