तेहरान। इरानले विश्वकै सबैभन्दा महत्त्वपूर्ण व्यापारिक जलमार्गमध्येको एक ‘स्ट्रेट अफ हर्मुज’ पूर्ण रूपमा बन्द गरेको घोषणा गरेको छ। हालै भएका अमेरिकी हमलाहरूको जवाफमा आफूहरूले यो कडा कदम चाल्नुपरेको इरानी अधिकारीहरूले दाबी गरेका छन्।
इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्स (आइआरजीसी) र संयुक्त सैन्य कमान्डले एक संयुक्त वक्तव्य जारी गर्दै अमेरिकाले इरानी बन्दरगाहहरूमा गरेको नाकाबन्दी र निरन्तरको सैन्य आक्रामकतापछि यो जलमार्गलाई आफ्नो पूर्ण नियन्त्रणमा लिएको प्रष्ट पारेका हुन्।
इरानी पक्षले अब कुनै पनि विदेशी जहाजले यो जलमार्ग पार गर्न खोजेमा त्यसलाई सीधा निशाना बनाइने कडा चेतावनी समेत दिएको छ।
फारसको खाडीलाई विश्व बजारसँग जोड्ने यो साँघुरो जलमार्ग विश्वकै प्रमुख ऊर्जा आपूर्तिको मेरुदण्ड मानिन्छ। विश्वभर खपत हुने कुल कच्चा तेलको करिब २० प्रतिशत र ठूलो मात्रामा तरल प्राकृतिक ग्यास (एलएनजी) यसै मार्ग भएर निर्यात हुने गर्दछ।
साउदी अरब, इराक, कुवेत, संयुक्त अरब इमिरेट्स (यूएई) र कतार जस्ता खाडी क्षेत्रका प्रमुख तेल उत्पादक राष्ट्रहरू आफ्नो इन्धन निर्यातका लागि पूर्ण रूपमा यसै मार्गमा निर्भर छन्। इरानको यो अप्रत्याशित कदमसँगै ती मुलुकहरूको तेल आपूर्ति ठप्प हुने स्थिति सिर्जना भएको छ।
जलमार्ग बन्द भएसँगै अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य अनियन्त्रित रूपमा आकासिने खतरा बढेको छ । बजार विश्लेषकहरूका अनुसार ब्रेन्ट क्रुडको मूल्य यसअघि नै उच्च बिन्दुमा रहेका बेला यो पूर्ण बन्दले तेलको मूल्य प्रतिब्यारेल १५० देखि २०० अमेरिकी डलरसम्म पुर्याउन सक्छ । इन्धनमा हुने यो भारी मूल्यवृद्धिले विश्वव्यापी रूपमा मुद्रास्फीति (महँगी) बढाउने र अन्ततः अन्तर्राष्ट्रिय आर्थिक मन्दी निम्त्याउन सक्ने जोखिम प्रबल बनेको छ ।
यस संकटबाट खाडीको तेलमा बढी निर्भर रहेका भारत, चीन, जापान र दक्षिण कोरिया जस्ता एसियाली मुलुकहरू सबैभन्दा बढी प्रभावित हुने देखिएका छन् भने युरोपमा पनि चरम इन्धन अभाव हुने निश्चित छ।
अहिले नै सयौँ तेल ट्यांकरहरू समुद्रमै अड्किएका छन् र युद्धको जोखिमका कारण बीमा कम्पनीहरूले कभरेज दिन अस्वीकार गरेपछि व्यापारीहरू थप त्रसित बनेका छन् ।
यस भू-राजनीतिक संकटको प्रत्यक्ष बाछिटा नेपालमा पनि पर्ने निश्चित छ। नेपालले आफ्नो सम्पूर्ण पेट्रोलियम पदार्थ भारतबाट आयात गर्ने भएकाले अन्तर्राष्ट्रिय बजारमा हुने मूल्यवृद्धिको सीधा असर नेपाली बजारमा देखिनेछ।
नेपालमा पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको मूल्य अत्यधिक बढ्न सक्ने र त्यसले ढुवानी, उद्योगधन्दा तथा कृषि क्षेत्रमा गम्भीर आर्थिक चाप थप्ने अनुमान गरिएको छ।
अमेरिका र इजरायलसँगको बढ्दो तनावकै बीच इरानले गरेको यो घोषणालाई विश्लेषकहरूले क्षेत्रीय युद्धको नयाँ चरणका रूपमा लिएका छन् भने अन्तर्राष्ट्रिय समुदायले तत्काल वार्ताको माध्यमबाट संकट समाधान गरी जलमार्ग खुला गर्न आह्वान गरिरहेका छन्।