सीमा विवादको समाधान आवेगबाट होइन, संयमित कूटनीतिक संवादबाट खोजिनुपर्छ: आङदेम्बे

सीमा विवादको समाधान आवेगबाट होइन, संयमित कूटनीतिक संवादबाट खोजिनुपर्छ:  आङदेम्बे

काठमाडौं। नेपाली कांग्रेसका सांसद भीष्मराज आङदेम्बेले नेपाल–भारत सीमा विवादजस्ता संवेदनशील विषयको समाधान आवेग र उत्तेजनाबाट नभई संयमित तथा कूटनीतिक संवादमार्फत खोजिनुपर्ने बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद आङदेम्बेले वर्तमान राजनीतिक परिस्थिति असामान्य रहेको उल्लेख गर्दै राष्ट्रिय स्वाभिमानको विषयमा सबै संवेदनशील हुनुपर्नेमा जोड दिए ।

संसदमा आफ्नो धारणा राख्दै उनले भने, ‘विपक्षी ज्युहरूले आफ्नो असन्तुष्टि व्यक्त गरिरहनु भएको छ । आज वर्तमान राजनीतिक परिस्थिति असामान्य छ । दुनियाँलाई थाहा छ लिपुलेक हाम्रो हो, कालापानी हाम्रो हो, लिम्पियाधुरा हाम्रो हो । यही संसदले ती भूभागसहित नेपालको नक्सा पारित गरेको पनि दुनियाँलाई थाहा छ । यो विषयको हल उत्तेजना र आवेगले होइन, संयमित ढंगले गहन संवादको माध्यमबाट कूटनीतिक प्रक्रियाबाट हुनुपर्दछ ।’

वीर गोर्खालीको इतिहास र गोपाल योञ्जनको गीत स्मरण
 

सांसद आङदेम्बेले नेपाल कहिल्यै कसैको उपनिवेश नबनेको र वीर गोर्खालीहरूको देशका नागरिकले सधैं स्वाभिमानका साथ जीवन बिताएको उल्लेख गरे । यस क्रममा उनले स्वर्गीय गायक गोपाल योञ्जनको चर्चित गीत उद्धृत गर्दै नेपालीहरूको राष्ट्रिय भावना, स्वाभिमान र स्वतन्त्रताको चेतनाबारे चर्चा गरे ।

गायक योञ्जनको राष्ट्रिय भावले ओतप्रोत गीत सम्झिँदै उनले अगाडि थपे:

‘खोसेको रोटीले मेरो पेट भरिन्न, मागेको धोतीले मेरो लाज छोपिन्न, घोटिएर हातपाउ झरिझाऊन् औँला, तर कोहीको अगाडि यी हात जोडिन्न । बनेको छ पहराले यो छाती मेरो...।’ उनले यो गीतको सान्दर्भिकता जोड्दै भने, ‘मैले यति भन्यो भने सायद राष्ट्रप्रति हाम्रो संवेदनशीलता यहाँनिर छ्याप्छ्याप्ती पोखिएको छ, जोडिएको छ ।’

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति प्रश्न
 

सांसद आङदेम्बेले नेपाली आमाको गर्भबाट जन्मिने हरेक सन्तानले सगरमाथाजस्तै उच्च स्वाभिमान बोकेर बाँच्ने बताए । सोही क्रममा उनले हालै प्रधानमन्त्रीबाट आएको सीमा सम्बन्धी अभिव्यक्तिप्रति गम्भीर प्रश्नसमेत उठाए । छिमेकी मुलुकले सीमा मिचेको विषय र नेपालले पनि मिचेको जस्तो अभिव्यक्ति दिनु सर्वथा अनुपयुक्त भएको उनको टिप्पणी थियो ।

प्रधानमन्त्रीको आलोचना गर्दै उनले प्रश्न गरे, ‘आज गोपाल योञ्जन हुनुहुन्थ्यो भने हाम्रो देशले छिमेकीको सिमाना मिचेको छ भनेर गर्वका साथ सार्वजनिक रूपमा अभिव्यक्ति दिने प्रधानमन्त्रीको भनाइ सुनेर के भन्नुहुन्थ्यो होला ? उनले पनि मिचे, हामीले पनि मिच्यौँ, के हिसाब बराबर भन्न खोज्नुभएको हो प्रधानमन्त्रीले ?’

सांसद आङदेम्बेले सीमा विवादजस्ता दीर्घकालीन महत्वका विषयको समाधान भावनात्मक प्रतिक्रिया वा क्षणिक उत्तेजनाले नभई गम्भीर संवाद, आपसी समझदारी र स्थापित कूटनीतिक प्रक्रियाबाटै खोजिनुपर्नेमा पुनः जोड दिएका छन् ।

छुटाउनुभयो कि ?