काठमाडौँ। प्रतिनिधि सभाको बैठकमा साझा रणनीति तय गर्न प्रमुख प्रतिपक्षी दलहरूबिच सिंहदरबारमा महत्त्वपूर्ण छलफल भइरहेको छ।
बुधबार सिंहदरबारस्थित प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा कांग्रेससहित नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का शीर्ष नेताहरू साझा रणनीति बनाउन छलफलमा जुटेका हुन्।
प्रधानमन्त्रीको पछिल्लो विवादित अभिव्यक्तिले राष्ट्रिय सार्वभौमिकता र कूटनीतिक मर्यादामा गम्भीर आँच पुर्याएको ठहर गर्दै विपक्षी दलहरूले लगातार सदन अवरुद्ध गर्दै आएका छन्।
संसद्भित्रको आफ्नो विरोध र दबाबलाई थप सशक्त एवं प्रभावकारी कसरी बनाउने भन्ने विषयमा नै यो संयुक्त बैठक केन्द्रित रहेको बुझिएको छ। विपक्षी दलहरूले प्रधानमन्त्रीको राजीनामा वा चित्तबुझ्दो स्पष्टीकरण नआएसम्म सदन चल्न नदिने अडान राख्दै आएका छन्।
विपक्षी दलहरूको यही आन्तरिक तयारी र संवादका कारण बुधबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक अझै सुरु हुन सकेको छैन। संसद् भवन नयाँ बानेश्वरमा सांसदहरू बैठकको पर्खाइमा रहे पनि सिंहदरबारमा जारी विपक्षीको बैठकले ठोस निर्णय गरेपछि मात्रै सदनको कारबाही अघि बढ्ने सम्भावना देखिएको छ।