इरानमा अमेरिकी आक्रमण: कुनै पनि धम्कीको कडा जवाफ दिने इरानको चेतावनी

इरानमा अमेरिकी आक्रमण: कुनै पनि धम्कीको कडा जवाफ दिने इरानको चेतावनी

तहेरान। अमेरिकी सैन्य कारबाहीपछि मध्यपूर्वमा तनाव उत्कर्षमा पुगेको छ भने इरानले आफूविरुद्ध हुने जुनसुकै आक्रमण वा धम्कीको कडा जवाफ दिने चेतावनी दिएको छ। इरानका विदेशमन्त्री अब्बास अराघचीले देशका सशस्त्र बलहरू उच्चतम युद्ध तयारी अवस्थामा रहेको उल्लेख गर्दै अमेरिकालाई यस क्षेत्रबाट बाहिरिन आग्रह गरेका छन्।

सामाजिक सञ्जाल एक्समार्फत बुधबार आफ्नो धारणा सार्वजनिक गर्दै विदेशमन्त्री अराघचीले इरानको शक्तिशाली सेनाले कुनै पनि हमलालाई जवाफविहीन नराख्ने स्पष्ट पारे। साथै उनले मध्यपूर्व क्षेत्रलाई सुरक्षित राख्न चाहनेहरूले यो क्षेत्र छाड्नुपर्ने चेतावनी समेत दिएका छन्।

यो तनावपूर्ण परिस्थिति अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) ले इरानका विभिन्न सैन्य अखडाहरूलाई लक्षित गरी 'रक्षात्मक आक्रमण' गरेको घोषणा गरेपछि सिर्जना भएको हो। अमेरिकी अपाचे हेलिकोप्टर खसालिएको घटनाको बदलास्वरूप अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा यो कारबाही गरिएको अमेरिकी पक्षले दाबी गरेको छ।

अमेरिकी अधिकारीहरूका अनुसार हर्मुज जलडमरूमध्य आसपास रहेका इरानी हवाई प्रतिरक्षा प्रणाली र रडार संरचनाहरूलाई निसाना बनाएर गरिएको यो सैन्य कारबाही बुधबार सम्पन्न भएको हो। यसअघि नै इरानी संसद्को राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका प्रवक्ता इब्राहिम रेजाइले देशका सैन्य शक्तिहरू उच्च सतर्कतामा रहेको र सम्भावित क्षतिको मर्मत सम्भार सकेर जवाफी हमलाका लागि पूर्ण तयार रहेको जानकारी दिएका थिए।

यसैबीच इरानको रक्षा मन्त्रालयले देशको सुरक्षा, स्वतन्त्रता र भौगोलिक अखण्डताको रक्षाका लागि सैन्य उपकरण, हतियार र रक्षा प्रणालीको उत्पादनलाई थप तीव्र पार्ने घोषणा गरेको छ। मन्त्रालयले आफ्नो प्रतिरोधात्मक क्षमता अझ सुदृढ बनाउँदै शत्रुलाई सामान्य क्षतिसमेत पुर्‍याउन नदिने अडान राखेको छ।

बुधबार बिहान दक्षिणी इरानको होर्मोजगान प्रान्तका सिरिक बन्दरगाह र मिनाब क्षेत्रमा ठूला विस्फोटका आवाजहरू सुनिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। अर्कोतर्फ, इराकको एक मिलिसिया समूहले इरानी ड्रोनहरूले इराकी आकाश प्रयोग गर्दै अमेरिकी लक्ष्यमा आक्रमण गरेको दाबी गरे पनि त्यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन। यसै क्रममा इजरायली सेनाका प्रमुख एयाल जमिरले पनि इजरायल जुनसुकै बेला इरानविरुद्ध पुनः सैन्य कारबाही गर्न तयार रहेको र आफ्ना सबै रक्षा प्रणाली उच्च सतर्कतामा राखेको बताएका छन्।

छुटाउनुभयो कि ?