कांग्रेस महाधिवेशन प्रविधिमैत्री बन्दै: क्रियाशील सदस्यता अद्यावधिक गर्ने अन्तिम म्याद जेठ २८ गते

कांग्रेस महाधिवेशन प्रविधिमैत्री बन्दै: क्रियाशील सदस्यता अद्यावधिक गर्ने अन्तिम म्याद जेठ २८ गते

काठमाडौँ । नेपाली कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिले क्रियाशील सदस्यता अद्यावधिकका लागि तोकिएको जेठ २८ गतेको समयसीमालाई नै अन्तिम म्यादका रूपमा कायम गर्ने निर्णय गरेको छ। आगामी १५औँ महाधिवेशनलाई पूर्ण रूपमा प्रविधिमा आधारित बनाउने लक्ष्यका साथ समितिको बैठकले सबै क्रियाशील सदस्यहरूलाई अनिवार्य रूपमा आफ्नो सदस्यता अद्यावधिक गर्न विशेष आग्रह गरेको हो।

ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बी.पी. स्मृति भवनमा महामन्त्री एवं समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा बसेको उक्त बैठकमा पार्टी सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री गुरुराज घिमिरेलगायतका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको महत्त्वपूर्ण उपस्थिति रहेको थियो।

समितिले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार गत २५ गते साँझ ५ बजेसम्म अद्यावधिक गर्न योग्य कुल ७ लाख ८२ हजार २०९ क्रियाशील सदस्यहरूमध्ये ४ लाख १७ हजार ७५३ जनाले आफ्नो सदस्यता प्राप्त गरिसकेका छन्। यसैगरी अन्य ९८ हजार १४३ जना सदस्यहरूले स्वयं अद्यावधिक फाराम पेश गरेर प्रक्रियालाई अगाडि बढाएका छन्।

आगामी महाधिवेशनमा डिजिटल प्रणालीलाई कडाइका साथ लागू गर्न लागिएको छ। जसअनुसार महाधिवेशनमा सहभागी हुनका लागि प्रत्येक क्रियाशील सदस्यको 'विशिष्ट पहिचान नम्बर' (युनिक आईडी) लाई प्रमुख आधार बनाइने निर्णय बैठकले गरेको छ। यस प्रक्रियालाई व्यवस्थित तुल्याउन पार्टीको डिजिटल प्रणालीमार्फत सबै सदस्यहरूको अभिलेख अद्यावधिक गरी एउटा एकीकृत डिजिटल सदस्यता प्रणाली नै लागू गरिने भएको छ।

सदस्यता अद्यावधिक गर्ने कार्यलाई सहज बनाउनका लागि प्राविधिक क्षेत्रमा पनि विशेष ध्यान दिइएको छ। अद्यावधिक गर्ने क्रममा कुनै पनि किसिमको प्राविधिक समस्या आएमा सदस्यहरूले पार्टीको आधिकारिक डिजिटल प्लेटफर्ममा उपलब्ध गराइएका सम्पर्क नम्बरहरू मार्फत सिधै प्राविधिक सहजीकरण प्राप्त गर्न सक्नेछन्। यसका साथै विधानअनुसार सदस्यता अद्यावधिक गर्न चाहने कुनै पनि योग्य सदस्यलाई प्रक्रियाबाट वञ्चित नगरिने प्रतिबद्धता समितिले जनाएको छ। यदि यस प्रक्रियामा कतैबाट कुनै अवरोध सिर्जना भएमा सदस्यहरूले केन्द्रीय कार्यालयमा सिधै सम्पर्क गरेर आफ्नो सदस्यता अद्यावधिक गर्न सक्ने व्यवस्था समेत मिलाइएको छ।

यसैबीच बैठकले पार्टीभित्रको आन्तरिक अनुशासनलाई कायम राख्न केही कडा निर्णयहरू समेत गरेको छ। अनुशासन समितिबाट कारबाहीमा परेका, नेपाली कांग्रेस परित्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गरेका तथा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका व्यक्तिहरूलाई कारबाही गरिने भएको छ। त्यस्तै अन्य दलका उम्मेदवारका प्रस्तावक, समर्थक वा प्रचारक बनेका व्यक्तिहरूको सदस्यता समेत ठोस प्रमाणका आधारमा पार्टीको केन्द्रीय अभिलेखबाट स्थायी रूपमा हटाउने निर्णय समितिले गरेको छ।

छुटाउनुभयो कि ?