रास्वपाको साधारण सदस्यता सवा पाँच लाख पुग्यो, ५६ जिल्लामा अधिवेशन सम्पन्न

रास्वपाको साधारण सदस्यता सवा पाँच लाख पुग्यो, ५६ जिल्लामा अधिवेशन सम्पन्न

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को साधारण सदस्यता लिने सर्वसाधारण र शुभेच्छुकहरूको संख्या सवा पाँच लाख पुगेको छ। आगामी असार पहिलो साता तय भएको पार्टीको प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनको मिति नजिकिँदै जाँदा रास्वपामा आबद्ध हुनेहरूको संख्यामा उल्लेख्य वृद्धि भएको हो।

केन्द्रीय संगठन विभागले अद्यावधिक गरेको शनिबारसम्मको प्रमाणित विवरणअनुसार डिजिटल तथा भौतिक माध्यमबाट सदस्यता लिनेको संख्या ५ लाख १६ हजार २५६ पुगेको छ। आइतबार र सोमबार संकलन भएका आवेदनहरूको अन्तिम रूजु हुन अझै बाँकी रहेकाले यो संख्या अझ बढ्ने निश्चित देखिएको छ।

पार्टीका संगठन विभाग सचिव शंकर श्रेष्ठका अनुसार रास्वपामा जोडिन चाहनेहरूको संख्या दिनानुदिन बढिरहेको छ। परम्परागत राजनीतिक दलहरूभन्दा फरक शैली अपनाउँदै रास्वपाले मोबाइल एप र अनलाइन पोर्टलमार्फत सहजै सदस्यता लिन सक्ने प्रविधिमैत्री व्यवस्था मिलाएका कारण यसमा विशेष गरी युवा पुस्ताको आकर्षण बढी देखिएको छ।

महाधिवेशनको पूर्वतयारी स्वरूप रास्वपाले देशैभर आफ्नो सांगठनिक संरचनालाई तल्लो तहदेखि नै संस्थागत गरिरहेको छ। देशका अधिकांश वडा र पालिका तहको अधिवेशन सम्पन्न भइसकेका छन् भने अहिले जिल्ला अधिवेशनहरू धमाधम अघि बढिरहेका छन्।

पार्टीको पूर्वघोषित कार्यतालिका अनुसार जेठ २३ र २४ गते नै सबै जिल्लाको अधिवेशन सक्ने लक्ष्य राखिएको भए तापनि आन्तरिक तयारी र तराई–मधेसका केही जिल्लाको विशेष परिस्थितिका कारण केही स्थानमा सोमबार र मंगलबार पनि अधिवेशनको प्रक्रिया चलिरहेको छ।

हालसम्म ७७ मध्ये ५६ वटा जिल्लाको अधिवेशन सफलतापूर्वक सम्पन्न भइसकेको छ भने १२ वटा जिल्लामा अधिवेशन प्रक्रिया जारी छ। आन्तरिक विवादका कारण सिन्धुपाल्चोकको जिल्ला अधिवेशन भने हाललाई स्थगित गरिएको छ भने केही हिमाली तथा दुर्गम जिल्लामा यसपटक अधिवेशन नहुने पार्टीले जनाएको छ।

रास्वपाको पहिलो ऐतिहासिक केन्द्रीय महाधिवेशन आगामी असार ७, ८ र ९ गते बागमती प्रदेशको चितवनमा हुँदैछ। स्थापनाको छोटो समयमै देशको चौथो ठूलो राजनीतिक शक्तिका रूपमा उदाएको रास्वपाका लागि यो महाधिवेशन र पाँच लाखभन्दा बढीको यो संगठनात्मक आधार आगामी निर्वाचनका लागि जग बलियो बनाउने महत्त्वपूर्ण कडी सावित हुने अनुमान राजनीतिक वृत्तमा गरिएको छ।

छुटाउनुभयो कि ?