काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सांगठनिक सुदृढीकरणका लागि भइरहेका जिल्ला अधिवेशनहरू अन्तिम चरणमा पुगेका छन्।
हालसम्म देशभरका कुल ५६ वटा जिल्लाहरूमा अधिवेशनको प्रक्रिया सफलतापूर्वक सम्पन्न भइसकेको छ। केन्द्रीय संगठन विभागका सचिव शंकर श्रेष्ठका अनुसार अधिवेशन सम्पन्न भएका जिल्लाहरूमध्ये झण्डै ९० प्रतिशत हाराहारी जिल्लामा तीव्र प्रतिस्पर्धासहित निर्वाचनमार्फत नेतृत्व चयन गरिएको छ।
पार्टीको केन्द्रीय संगठन विभागले दिएको जानकारी अनुसार अझै १२ वटा जिल्लाहरूमा अधिवेशनको प्रक्रिया जारी रहेको छ। तीमध्ये केही जिल्लाहरूमा मतदान सम्पन्न भई मतपरिणामका लागि मतगणनाको कार्य भइरहेको छ।
भौगोलिक हिसाबले मधेस प्रदेशका अधिकांश जिल्लाहरूमा भने अझै अधिवेशन हुन बाँकी रहेको देखिएको छ। मधेसका महोत्तरी, रौतहट, सिराहा, पर्सा र सर्लाहीमा जिल्ला अधिवेशन अहिले निर्वाचनको चरणमा प्रवेश गरिसकेको छ भने सप्तरी र बाराको अधिवेशन मंगलबारका लागि तोकिएको छ। यस्तै धनुषाको अधिवेशन भने बुधबार सम्पन्न गर्ने गरी कार्यतालिका तय गरिएको छ।
यसैबीच बागमती प्रदेशअन्तर्गतको सिन्धुपाल्चोक जिल्ला अधिवेशन भने नेतृत्व चयनको अन्तिम चरणमा पुगेर अवरुद्ध बन्न पुगेको छ। त्यहाँ उत्पन्न विवाद समाधान गर्दै अधिवेशन सम्पन्न गराउन केन्द्रीय निर्वाचन आयोगले काभ्रेका सांसद मधुकुमार चौलागाईँको नेतृत्वमा एक विशेष निर्वाचन समिति नै बनाएर जिल्ला पठाएको थियो। तर, उक्त समितिले प्रयास गर्दागर्दै पनि आन्तरिक खिचातानीका कारण हालसम्म सिन्धुपाल्चोकमा अधिवेशन सम्पन्न हुन सकेको छैन।
यसपटकको जिल्ला अधिवेशनमा पार्टीभित्र महिला नेतृत्वको सहभागिता र विजयलाई निकै चासोका साथ हेरिएको छ। रास्वपाले हालसम्म अधिवेशन सम्पन्न गरेका ५६ जिल्लाहरूमध्ये केवल दुईवटा जिल्लामा मात्रै महिला नेतृत्व निर्वाचित हुन सफल भएका छन्। जसअन्तर्गत लुम्बिनी प्रदेशको अर्घाखाँची जिल्ला सभापतिमा सीता पराजुली र बर्दिया जिल्ला सभापतिमा शान्ता बुढा क्षेत्री निर्वाचित भई नेतृत्व सम्हाल्न सफल भएका छन्।