१३ देशको राजदूत बन्न झन्डै चार हजार आवेदन

१३ देशको राजदूत बन्न झन्डै चार हजार आवेदन

काठमाडौं । विभिन्न १३ देशका लागि रिक्त नेपाली राजदूत पदमा झन्डै चार हजार आवेदन परेको छ। परराष्ट्र मन्त्रालयका अनुसार खुला प्रतिस्पर्धाका लागि करिब तीन हजार आवेदकबाट ती आवेदनहरू प्राप्त भएका हुन्।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले करिब तीन हजार जनाबाट झन्डै चार हजार आवेदन परेको पुष्टि गर्दै एकै व्यक्तिबाट एकभन्दा बढी देशका लागिसमेत आवेदन परेकाले आवेदनको संख्या बढी देखिएको जानकारी दिए।

नेपाली कूटनीतिक इतिहासमै पहिलोपटक खुला आवेदन आह्वान गर्दै परराष्ट्र मन्त्रालयले गत जेठ १४ गते रिक्त १३ देशका लागि सूचना जारी गरेको थियो। आवेदन दिने अन्तिम म्याद जेठ २२ गते बेलुकी ५ बजेसम्म तोकिएको थियो। सो अवधिमा आफूलाई बहुमुखी योग्य दाबी गर्दै कतिपय आवेदकले १० वटासम्म देशका लागि छुट्टाछुट्टै आवेदन दिएका छन्, जसको अर्थ एउटै व्यक्तिले आफू १० वटा फरक देशका लागि राजदूत हुन उपयुक्त रहेको दाबी गरेको देखिन्छ।

राजदूत नियुक्ति प्रक्रियालाई समावेशी र व्यापक बनाउन यसपटक इच्छुक योग्य उमेदवार स्वयंले दरखास्त पेस गर्न सक्ने मात्र नभई, अन्य कुनै व्यक्ति वा निकायले समेत उपयुक्त उमेदवारको नाम सिफारिस गर्न सक्ने नवीन व्यवस्था गरिएको थियो। मन्त्रालयका अनुसार रीत नपुगेका वा तोकिएको म्याद नाघेर आएका आवेदनहरूलाई छनोट प्रक्रियामा समावेश गरिने छैन।

मन्त्रालयले प्राप्त आवेदन तथा सिफारिसहरू संकलन गरी प्रारम्भिक छानबिन सुरु गरिसकेको छ। योग्यता र उपयुक्तताका आधारमा उमेदवारहरूको ‘सर्टलिस्ट’ तयार गरिने र उक्त सूचीमा परेका उमेदवारहरूलाई मात्र आगामी प्रक्रियाका लागि सम्पर्क गरिने मन्त्रालयले जनाएको छ।

मन्त्रालयले राजदूत नियुक्तिका लागि विशेष ‘टम्र्स अफ रेफरेन्स’ (टीओआर) तयार गरी कार्यक्षमता र योग्यताका १५ वटा न्यूनतम मापदण्डहरू निर्धारण गरेको छ। जसअनुसार आवेदक कम्तिमा ३५ वर्ष पूरा भएको नेपाली नागरिक हुनुपर्नेछ भने मान्यता प्राप्त विश्वविद्यालयबाट न्यूनतम स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ।

उमेदवारमा अंग्रेजी भाषाको राम्रो ज्ञान हुनु अनिवार्य गरिएको छ भने कूटनीतिक कार्यभार सम्हाल्ने देशको आधिकारिक भाषाको ज्ञान भएमा त्यस्ता उमेदवारलाई थप प्राथमिकता दिइनेछ। आवेदकहरूसँग नेपालको विदेश नीति, अन्तर्राष्ट्रिय सम्बन्ध वा द्विपक्षीय तथा बहुपक्षीय कूटनीतिमा कार्यअनुभव हुनुपर्नेछ। साथै, कूटनीतिक र कन्सुलर सम्बन्धसम्बन्धी भियना महासन्धि एवं अन्तर्राष्ट्रिय कूटनीतिक अभ्यासहरूको राम्रो ज्ञान भएको व्यक्ति मात्र यसका लागि उपयुक्त मानिनेछ।

प्रस्तावित पदस्थापना हुने देशमा उमेदवारको कुनै पनि प्रकारको स्वार्थको द्वन्द्व वा निहित स्वार्थ हुन नहुने र नेपाल सरकार वा अन्तर्राष्ट्रिय निकायको कालोसूचीमा नरहेको हुनुपर्ने कडा सर्त मन्त्रालयले राखेको छ। अन्तर्राष्ट्रिय वा विदेशी सहायताद्वारा सञ्चालित गैरसरकारी संस्थामा हाल कार्यरत व्यक्ति यसका लागि योग्य हुने छैनन्। आवेदक उच्च नैतिक चरित्र भएको र अदालतबाट भ्रष्टाचार वा नैतिक पतन देखिने कुनै पनि फौजदारी कसुरमा दोषी ठहर नभएको हुनुपर्नेछ।

यसैगरी सरकारी सेवाबाट बर्खास्त गरिएका वा भविष्यमा सरकारी जागिरका लागि अयोग्य घोषित व्यक्तिले आवेदन दिन पाउने छैनन्। विदेशको कुनै पनि स्थायी वा अस्थायी बसोबास अनुमति पत्र वा अध्यागमन लाभ धारण गरेको व्यक्ति पनि राजदूत बन्नबाट बञ्चित हुनेछन्। यदि पहिले कुनै विदेशी राज्यको तलबभोगी पदमा काम गरेको भए, सो भूमिका छोडेको कम्तिमा १० वर्ष पूरा भएको हुनुपर्नेछ।

परराष्ट्र मन्त्रालयले यसपटक अमेरिका, चीन, भारत, अस्ट्रेलिया, बेलायत, साउदी अरेबिया, बंगलादेश, इजरायल, ओमान, दक्षिण कोरिया, मलेसिया, बहराइन र अस्ट्रियाका लागि खुला आवेदनमार्फत नयाँ राजदूत नियुक्त गर्न लागेको हो।

छुटाउनुभयो कि ?