काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका समग्र कामकारबाही तथा गतिविधिहरूमाथि निगरानी बढाउने भएको छ। सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा आज बसेको मन्त्रालयगत संयोजकहरूको विशेष बैठकले संसदमा आफ्नो भूमिकालाई थप प्रभावकारी बनाउँदै सरकारको कार्यसम्पादनमाथि कडा निगरानी राख्ने निष्कर्ष निकालेको हो।
संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको नेतृत्वमा बसेको उक्त बैठकमा मन्त्रालयगत संयोजकको जिम्मेवारी पाएका सांसदहरूले सरकारका चालु गतिविधि, मन्त्रालयहरूको कार्यसम्पादनको अवस्था तथा जनतासँग प्रत्यक्ष सरोकार राख्ने समसामयिक विषयहरूमा आ-आफ्नो धारणा राखेका थिए।
बैठकले मन्त्रिपरिषद्का निर्णयहरू र सरकारका कामकारबाहीको नियमित अनुगमन गर्ने, मन्त्रालयगत गतिविधिको मसिनो गरी अध्ययन तथा विश्लेषण गर्ने र जनसरोकारका विषयहरूलाई संसदमा सशक्त ढङ्गले उठाउने निर्णय गरेको छ।
आङ्देम्बेको सचिवालयका अनुसार राष्ट्रिय महत्त्वका मुद्दाहरूमा पार्टीको आधिकारिक धारणा निर्माणका लागि आवश्यक सुझाव दिने, जनताका गुनासा तथा समस्यालाई सम्बन्धित निकायसम्म पुर्याउने र सरकारलाई जनताप्रति जवाफदेही बनाउन पार्टीले सक्रिय भूमिका खेल्ने प्रतिबद्धता समेत बैठकमा व्यक्त भएको छ।
संसदीय निगरानीलाई थप व्यवस्थित र संस्थागत बनाउन बैठकले एउटा महत्त्वपूर्ण कार्यतालिका समेत तय गरेको छ। जसअनुसार मन्त्रालयगत जिम्मेवारी पाएका संयोजकहरूको बैठक अबदेखि प्रत्येक महिनामा कम्तीमा एकपटक अनिवार्य रूपमा बस्नेछ भने देशको आवश्यकता र परिस्थितिअनुसार जुनसुकै समयमा पनि आकस्मिक बैठक बोलाउन सकिने जनाइएको छ।
मन्त्रालयगत संयोजकहरूको सक्रियता बढाएर सरकारको कामको प्रभावकारी अनुगमन गर्दै संसद् भित्र रचनात्मक, तार्किक र सशक्त प्रतिपक्षी भूमिका निर्वाह गर्ने तयारीमा नेपाली कांग्रेस जुटेको छ।