गोरखा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री एवं संसदीय दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले मुलुकको समग्र विकास, समृद्धि र सुशासनका लागि सरकार निरन्तर लागिपर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
रास्वपा गोरखाको प्रथम जिल्ला अधिवेशनको भव्य उद्घाटन गर्दै महामन्त्री बुर्लाकोटीले देशको विकास निर्माणका साझा मुद्दाहरूमा सबै राजनीतिक दलहरूसँग सहकार्य गरेर अघि बढ्न आफ्नो पार्टी सधैँ तयार रहेको स्पष्ट पारे। आम जनताले रास्वपालाई विश्वास गरेर दिएको मत संसद् वा सडकमा अन्य दलहरूसँग असमझदारी बढाउनका लागि नभई देश निर्माणका लागि भएको उनले उल्लेख गरे।
सम्बोधनका क्रममा महामन्त्री बुर्लाकोटीले लामो समयदेखि बन्द अवस्थामा रहेको गोरखाको ऐतिहासिक गोरखकाली रबर उद्योगलाई पुनः सञ्चालनमा ल्याउन सरकारले विशेष पहल गरिरहेको महत्वपूर्ण जानकारी दिए।
यस विषयमा आफूले अर्थ मन्त्रालयसँग पटक–पटक सकारात्मक छलफल अगाडि बढाएको खुलाउँदै उनले उद्योगमा निजी क्षेत्रले लगानी गरेर अघि बढ्न सक्ने प्रवल सम्भावना रहेको औंल्याए। सरकार आफैँले चलाए पनि वा सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा लगेर भए पनि यो उद्योग जुनसुकै हालतमा सञ्चालन हुनुपर्नेमा उनले जोड दिए। नेपालका सडकमा गुड्ने सबै गाडीमा गोरखकाली रबर उद्योगकै टायर प्रयोग भएको देख्ने आफ्नो सपना रहेको उनले भावुक बन्दै सुनाए।
यसैगरी, गोरखा र धादिङको सिमानामा बन्न लागेको राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजनाको विषयमा पनि उनले संक्षिप्त धारणा राखे। लामो समयदेखि सुस्त गतिमा रहेको यस जलाशययुक्त आयोजनाको निर्माण कार्यलाई तीव्र रूपमा अगाडि बढाउन सरकारले आगामी आर्थिक वर्षको बजेटमा आवश्यक रकम विनियोजन गरिसकेको उनले जानकारी दिए। राष्ट्रिय प्राथमिकताका यस्ता ठूला आयोजनाहरू समयमै सम्पन्न गराउन रास्वपाले सरकार र संसद् दुवै ठाउँबाट निरन्तर खबरदारी र सहजीकरण गरिरहने उनले स्पष्ट पारे।