नुवाकोट। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटको जिल्ला सभापतिमा २५ वर्षीय युवा नेता रामेश्वर गजुरेल निर्वाचित भएका छन्। शनिबार सम्पन्न रास्वपाको ऐतिहासिक जिल्ला अधिवेशनबाट उनले आफ्ना प्रतिस्पर्धीहरूलाई फराकिलो मत अन्तरले पराजित गर्दै नेतृत्वको जिम्मेवारी हात पारेका हुन्।
अधिवेशनमा खसेको कुल ३२५ मतमध्ये गजुरेलले २५७ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी शरण महतले ३७ मत र अर्का प्रतिस्पर्धी राजु लामिछानेले २८ मत मात्र प्राप्त गर्न सके। यसअघि २१ वर्षकै कलिलो उमेरमा जिल्लाको तदर्थ समितिको नेतृत्व सम्हालेर कुशल सांगठनिक क्षमता प्रदर्शन गरिसकेका गजुरेल यसपटक लोकतान्त्रिक प्रक्रियाबाटै जिल्लाको मुख्य कमान्डर चुनिएका हुन्।
नवनिर्वाचित सभापति गजुरेलले पार्टीको संगठनलाई जिल्लाका सबै वडा र पालिका तहसम्म विस्तार गरिसकिएको जानकारी दिँदै अबको सम्पूर्ण ध्यान आगामी स्थानीय तहको निर्वाचनमा केन्द्रित हुने बताए।
निर्वाचनलाई एक प्राविधिक र रणनीतिक विषयका रूपमा व्याख्या गर्दै उनले चुनावी परिणाम आफ्नो पक्षमा पार्न सबै पक्षलाई समेटेर र एकताबद्ध बनाएर अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरे।
यसैगरी, अधिवेशनले जिल्ला कार्यसमितिको उपसभापतिमा कृष्णलाल श्रेष्ठ र सचिवमा वसन्त धिताललाई निर्वाचित गरेको छ। कार्यसमितिको अन्य पदहरूमा जनजाति सदस्यतर्फ छोपेन तामाङ तथा महिला सदस्यतर्फ लक्ष्मी पाण्डे, जानुका सापकोटा र राधिका रिमाल विजयी भएका छन्।
त्यस्तै, खुला सदस्यतर्फ क्षेत्र नम्बर १ बाट विपना पाण्डे र क्षेत्र नम्बर २ बाट सुवास भण्डारी निर्वाचित भएको रास्वपा नुवाकोटले जनाएको छ। युवा नेतृत्वको आगमनसँगै नुवाकोटमा रास्वपाको सांगठनिक गतिविधि थप चलायमान हुने अपेक्षा गरिएको छ।