काठमाडौँ। पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुधन गुरुङले आफ्नो सम्पत्तिको विषयमा उठेका प्रश्नहरूको निष्पक्ष छानबिनका लागि सहजीकरण गर्न आफूले मन्त्री पदबाट राजीनामा दिएको खुलासा गरेका छन्।
रास्वपा गोरखाको पहिलो जिल्ला अधिवेशन सत्रलाई सम्बोधन गर्दै सांसद गुरुङले सार्वजनिक पदमा रहँदा नागरिक र सञ्चारमाध्यमबाट उठेका सवालहरूको जवाफ दिन आफू पूर्ण रूपमा जिम्मेवार बनेको स्पष्ट पारे।
सार्वजनिक ओहोदामा बसेपछि जवाफदेही हुनुपर्ने मान्यताकै कारण आफू छानबिन समितिसमक्ष उपस्थित भएर बयान दिएको उनले बताए। अधिवेशनलाई सम्बोधन गर्ने क्रममा सांसद गुरुङले छानबिनका क्रममा सोधिएका कतिपय कडा प्रश्नहरूको आफूले सहज र स्पष्ट रूपमा जवाफ दिएको अनुभव सुनाए।
उनले छानबिन समितिले आफ्नो काम पूरा गरी प्रतिवेदन प्रधानमन्त्री कार्यालयमा बुझाइसकेको जानकारी दिँदै आफूले पूर्ण रूपमा सफाइ पाउनेमा दृढ विश्वास व्यक्त गरे।
आफ्नो छानबिन प्रक्रिया सकारात्मक रूपमा टुङ्गिने र सरकारले पुनः गृह मन्त्रालयको जिम्मेवारी सुम्पिने सम्भावनाप्रति सङ्केत गर्दै गुरुङले कार्यकर्ता र शुभेच्छुकमाझ एउटा फरक आग्रह समेत राखेका छन्।
उनले यदि समितिबाट सफाइ पाएर आफू पुनः गृहमन्त्रीको रूपमा सिंहदरबार फर्किएमा, मन्त्रालयमा आएर बधाई दिने र तस्बिर खिचाउने कामको लागि सुरुका दुई महिना कोही पनि नआइदिन अनुरोध गरे। मन्त्रालय सम्हालेको सुरुवाती समय खादा-माला र बधाईमै बित्ने परिपाटीलाई निरुत्साहित गर्दै काममा केन्द्रित हुन उनले यस्तो आग्रह गरेका हुन्।