नेपाल र भारतबीच तीनवटा महत्त्वपूर्ण संयुक्त घोषणा, सीमापार डिजिटल कारोबारले पायो पूर्णता

नेपाल र भारतबीच तीनवटा महत्त्वपूर्ण संयुक्त घोषणा, सीमापार डिजिटल कारोबारले पायो पूर्णता

काठमाडौं। नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री एस. जयशंकरबीच शनिबार नयाँ दिल्लीमा द्विपक्षीय उच्चस्तरीय वार्ता भएको छ।

नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले जारी गरेको प्रेस विज्ञप्ति अनुसार उक्त बैठकमा नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्धका समग्र पक्षमा केन्द्रित रहेर गहन र फलदायी छलफल भएको थियो।

वार्ताका क्रममा दुई देशबीचको आर्थिक सहकार्य, व्यापार प्रवर्द्धन, सीमापार सम्पर्क सञ्जाल (कनेक्टिभिटी) को विस्तार, ऊर्जा साझेदारी, जलस्रोत व्यवस्थापन तथा खेलकुदका माध्यमबाट जनस्तरको सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा विस्तृत समीक्षा गरिएको छ।

दुवै मन्त्रीहरूले आपसी हितका क्षेत्रमा दीर्घकालीन साझेदारीलाई थप सुदृढ र फराकिलो बनाउने साझा प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

बैठकमा दुई देशबीच हाल सञ्चालनमा रहेका विभिन्न विकास परियोजनाहरू तथा द्विपक्षीय सहकार्यका कार्यक्रमहरूको प्रगतिबारे समेत समीक्षा भएको थियो।

ती परियोजनाहरूको कार्यान्वयन प्रक्रियालाई थप तीव्र बनाउने उपायहरूका साथै साझा चासोका क्षेत्रीय, अन्तर्राष्ट्रिय र बहुपक्षीय मञ्चहरूमा पारस्परिक सहकार्यलाई अझ प्रभावकारी ढंगले अगाडि बढाउने सहमति बनेको छ।

नेपाल र भारतबीचको सम्बन्धलाई नयाँ उचाइ दिने उद्देश्यका साथ वार्ताका क्रममा तीनवटा महत्त्वपूर्ण संयुक्त घोषणाहरू समेत गरिएका छन्। दिल्लीस्थित नेपाली दूतावासका अनुसार यी घोषणाहरूले दुई देशबीचको प्राविधिक, आर्थिक र पुनर्निर्माणको क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ।

घोषणा गरिएका प्रमुख विषयहरू अन्तर्गत पहिलो बुँदामा नेपाल र भारतबीच व्यक्ति-व्यक्तिबीच हुने सीमापार डिजिटल भुक्तानी प्रणालीलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने कार्य समावेश छ।

यो प्रणाली सन् २०२३ जुन महिनामा नेपाल क्लियरिङ हाउस लिमिटेड र भारतको नेसनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया बीच भएको समझदारी अन्तर्गत कार्यान्वयनमा ल्याइएको हो, जसले आगामी दिनमा दुई देशबीचको डिजिटल कारोबारलाई थप सहज, द्रुत र औपचारिक बनाउनेछ।

दोस्रो महत्त्वपूर्ण घोषणा अन्तर्गत भारत सरकारको विकास सहयोगमा नेपालमा भूकम्पपछिको पुनर्निर्माण कार्यक्रम अन्तर्गत निर्माण सम्पन्न भएका कुल ८४ वटा परियोजनाहरू औपचारिक रूपमा नेपाललाई हस्तान्तरण गरिएको छ।

यसमा ७२ वटा स्वास्थ्य क्षेत्रका र १२ वटा सांस्कृतिक सम्पदा क्षेत्रका परियोजनाहरू रहेका छन्, जसको हस्तान्तरणसँगै नेपालको स्वास्थ्य सेवा तथा सांस्कृतिक सम्पदा पुनःस्थापनामा भारतीय सहयोगले पूर्णता पाएको छ।

यसैगरी तेस्रो घोषणा अन्तर्गत आर्टिफिसियल इन्टेलिजेन्स र भाषा रूपान्तरण प्रविधिको विकासका लागि काठमाडौँ विश्वविद्यालय स्कूल अफ इन्जिनियरिङ अन्तर्गतको ‘सेन्टर फर डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर एण्ड आर्टिफिसियल इन्टेलिजेन्स’ र भारतको ‘डिजिटल इन्डिया भाषिणी डिभिजन’ बीच समझदारीपत्र आदानप्रदान भएको छ।

यो सहकार्यले ‘भ्वाइस फर्स्ट’ नामक भाषा अनुवाद गर्ने प्लेटफर्मका लागि राष्ट्रिय डिजिटल पूर्वाधार निर्माण गर्ने उद्देश्य राखेको छ, जसबाट नेपाली भाषासहित विभिन्न भाषाहरूमा एआईमा आधारित अनुवाद प्रणाली विकास गर्न ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ।

शुक्रबार भारत भ्रमणमा जानुभएका परराष्ट्रमन्त्री खनाल यी महत्त्वपूर्ण सहमति र द्विपक्षीय वार्ताहरू सकेर आइतबार काठमाडौँ फर्किने कार्यक्रम रहेको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ।

छुटाउनुभयो कि ?