काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वडा र पालिका तहको साङ्गठनिक निर्वाचन सम्पन्न गरेसँगै जिल्ला तथा प्रदेश तहको निर्वाचन प्रक्रियालाई तीव्रता दिएको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगका अनुसार आज जेठ २३ र भोलि जेठ २४ गते देशव्यापी रूपमा जिल्ला अधिवेशन तथा निर्वाचन कार्यक्रमहरू सञ्चालन भइरहेका छन्।
पार्टीलाई पूर्ण रूपमा वैधानिक र जनअनुमोदित संरचनामा रूपान्तरण गर्ने उद्देश्यसहित यी अधिवेशनहरू अगाडि बढाइएको केन्द्रीय निर्वाचन आयोगले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
आयोगका प्रमुख भुवन केसीले जिल्ला अधिवेशनहरू पार्टीको साङ्गठनिक इतिहासमा तदर्थ संरचनाबाट पूर्ण वैधानिक स्वरूपमा जाने महत्त्वपूर्ण चरण भएको बताउनुभएको छ। स्वच्छ र निष्पक्ष प्रक्रियामार्फत नयाँ नेतृत्व चयन हुने विश्वास व्यक्त गर्दै उहाँले निर्वाचन सम्पन्न गर्न प्रत्येक जिल्लामा ३ सदस्यीय र प्रदेशमा ५ सदस्यीय निर्वाचन समिति परिचालन गरिएको जानकारी दिनुभयो।
हालसम्मको सांगठनिक अवस्था र निर्वाचन कार्यतालिका
आयोगले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार हालसम्म देशभरका ४ हजार २४६ वडा समितिको अधिवेशन सफलतापूर्वक सम्पन्न भइसकेको छ भने ४ वटा तदर्थ वडा समितिहरू अद्यावधिक गरिएका छन्। यसैगरी ५१२ पालिका समितिको अधिवेशन सम्पन्न भइसकेको छ भने ४ वटा तदर्थ पालिका समिति अद्यावधिक गरिएको जनाइएको छ।
आगामी राष्ट्रिय महाधिवेशन अगावै देशभरका ७७ मध्ये ६७ जिल्लामा निर्वाचन सम्पन्न गर्ने पार्टीको कार्यतालिका छ। जसअनुसार आज पहिलो दिन सातै प्रदेशका ३८ जिल्लामा मतदान र नेतृत्व चयनको कार्य भइरहेको छ भने भोलि थप २७ जिल्लामा निर्वाचन हुनेछ। विशेष साङ्गठनिक परिस्थितिका कारण एक जिल्लाको निर्वाचन भने आगामी जेठ २६ गतेका लागि तय गरिएको छ।
प्रदेश अधिवेशनको तयारी
जिल्ला अधिवेशनसँगै रास्वपाले प्रदेश तहको नेतृत्व चयनको तयारी समेत थालेको छ। जेठ २६ गतेबाट बागमती प्रदेशबाट प्रदेश अधिवेशनको सुरुवात हुने आयोगले जनाएको छ। सातवटै प्रदेशमा अधिवेशन सञ्चालनका लागि ५ सदस्यीय प्रदेश निर्वाचन समिति गठन गरी काम अगाडि बढाइसकिएको छ।
कार्यतालिकामा समेटिन बाँकी रहेका १० जिल्लाको अधिवेशन भने आगामी राष्ट्रिय महाधिवेशन सम्पन्न भएपछि क्रमशः सञ्चालन गरिने आयोगले स्पष्ट पारेको छ। केन्द्रीय निर्वाचन आयोगले आफ्नो यस आन्तरिक लोकतान्त्रिक अभ्यासलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सम्पूर्ण पार्टी पङ्क्ति तथा सरोकारवालाहरूसँग सहयोगको अपिल समेत गरेको छ।