काठमाडौं । भारतको पाँच दिने भ्रमण सकेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शुक्रबार अपराह्न काठमाडौं फर्किएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले आफ्नो यसपटकको भारत भ्रमणलाई पूर्ण रूपमा पारदर्शी र परिणाममुखी भएको दाबी गरेका छन्।
लामिछानेले यसपटकको भ्रमण अघिल्ला कूटनीतिक भेटघाटहरूभन्दा बिल्कुलै फरक रहेको उल्लेख गर्दै पहिले धेरैजसो भ्रमणहरू बन्द कोठामा हुने गरेकोमा यसपटक भने सबै वार्ताहरू पारदर्शी रूपमा सम्पन्न भएको बताए। भारतीय अधिकारीहरू र मित्र राष्ट्र अमेरिकाका प्रतिनिधिसँग भएका छलफलहरूमा नेपाली कार्यवाहक राजदूतको समेत उपस्थिति गराइएकाले वार्ता अझ खुला र स्पष्ट भएको उनको भनाइ थियो।
सभापति लामिछानेले नेपाल–भारत सम्बन्धलाई अब नयाँ ढंगले अघि बढाउने प्रयास भएको स्पष्ट पारेका छन्। विगतका अस्पष्ट, लुकिछिपी र अपारदर्शी सम्बन्धलाई अन्त्य गर्दै आफूहरूले सम्बन्धलाई 'रिसेट' गर्ने काम गरेको उनले दाबी गरे। नेपालले अब कूटनीतिक विषयलाई सडक, सदन र मिडियाका सतही बहसभन्दा माथि उठाएर संस्थागत ढंगले अघि बढाउनुपर्ने आवश्यकता रहेकोमा उनले जोड दिए। लामिछानेले नेपाल–भारत सम्बन्धलाई अब राजनीतिमा मात्र सीमित नराखेर अर्थराजनीतिक दृष्टिकोणबाट अघि बढाइएको जानकारी दिए।
भ्रमणका क्रममा भारतसँग कनेक्टिभिटी, धार्मिक पर्यटन, लगानी र विकास सहकार्यका विविध पक्षमा विस्तृत छलफल भएको उल्लेख गर्दै उनले भारतसँग नयाँ चरणको संवाद सुरु भएको बताए। आफ्नो एक लेख भारतीय प्रतिष्ठित पत्रिका हिन्दुस्तान टाइम्समा प्रकाशित भएको स्मरण गराउँदै लामिछानेले त्यसमार्फत नेपालमा रास्वपाले चाहेको सहकार्य र सहभागिताको स्पष्ट दृष्टिकोण प्रस्तुत गरिएको बताए।
भारतसँगको यस छलफलले आगामी दिनमा लगानी र सहकार्यका नयाँ ढोका खोल्ने अपेक्षा गरिएको भन्दै उनले नेपाल–भारत सम्बन्धमा यो एउटा 'नयाँ सुरुवात' भएको र यस भ्रमणले पुराना समस्या समाधान गर्ने थालनी गरेको दाबी समेत दोहोर्याएका छन्।