काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले पार्टी अनुशासन उल्लंघनसम्बन्धी विभिन्न उजुरीमाथि निर्णय गर्दै बारा जिल्ला कार्यसमिति सभापति राजेश राय यादवलाई निलम्बन गरेको छ ।
समितिको बिहीबार पार्टी केन्द्रीय कार्यालय, बीपी स्मृति भवन ललितपुरमा बसेको बैठकले यादवले तोकिएको समयभित्र स्पष्टीकरण नदिएको र थप अनुसन्धान आवश्यक देखिएको भन्दै अन्तिम निर्णय नआएसम्मलाई सभापति पदमा काम गर्न नपाउने गरी निलम्बन गर्ने निर्णय गरेको हो ।
समितिका अनुसार यादवमाथि २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेलेको आरोपमा उजुरी परेको थियो। उनलाई दुई पटक स्पष्टीकरण माग गरिए पनि जवाफ नआएपछि विधान अनुसार निलम्बन गरिएको जनाइएको छ ।
यसैगरी अनुशासन समिति समितिले सर्लाही जिल्लाका तीन प्रदेश सभा सदस्यहरू सकुन्ती देवी महरा, कौशल किशोर राय र जंगीलाल रायलाई स्पष्टीकरणपछि पार्टीको विधान र नियमावलीप्रति पूर्ण प्रतिबद्ध रहन निर्देशन दिएको सचिव दिनेश थापामगरले बताएका छन् ।
समितिले बारा जिल्ला उपसभापति अमिरीलाल राउत (पाल) विरुद्धको उजुरीमा थप कारबाही नहुने निर्णय गरेको छ । अनुसन्धान र कागजात अध्ययनपछि उहाँको स्पष्टिकरण सन्तोषजनक देखिएको भन्दै आरोपबाट सफाइ दिएको समितिले जनाएको छ ।