विरोधीको प्रहार भइरहेका बेला पार्टीभित्र भ्रम फैलाउने प्रवृत्ति स्वीकार्य हुँदैन: अध्यक्ष ओली

विरोधीको प्रहार भइरहेका बेला पार्टीभित्र भ्रम फैलाउने प्रवृत्ति स्वीकार्य हुँदैन: अध्यक्ष ओली

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक परिस्थितिमा पार्टीभित्र अझ मजबुद र व्यापक एकता आवश्यक रहेको बताएका छन्। पार्टीको केन्द्रीय सङ्गठन विभागद्वारा आयोजित ‘सदस्यता नवीकरण, विस्तार तथा उत्प्रेरणा’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले आन्तरिक एकता बलियो नभई पार्टीले सोचेको लक्ष्य हासिल गर्न नसक्ने स्पष्ट पारे।

अध्यक्ष ओलीले पार्टीभित्र नेतृत्वलाई मात्रै निसाना बनाउने गलत मानसिकता हाबी हुन खोजेको भन्दै असन्तुष्टि व्यक्त गरे। कतिपय नेताहरूले शीर्ष नेतृत्वको 'शिर काटेर टेबलमा राखिदिने' हो भने मात्रै पार्टी सुध्रिन्छ र चल्छ भन्ने खालका अभिव्यक्ति दिने गरेको स्मरण गर्दै उनले आक्रोश पोखे। ‘शिर काटेर टेबलमा राखिदिने हो भने जीउले मात्रै पार्टी एकता हुन्छ भन्ने मानसिकता पार्टीको हितमा छैन,’ अध्यक्ष ओलीले भने।

एमालेविरुद्ध चौतर्फी विरोधीहरूबाट गम्भीर हमला भइरहेको संवेदनशील समयमा पार्टीकै केही जिम्मेवार साथीहरू र कतिपय सञ्चारमाध्यमहरू समेत पार्टीकै विरुद्धमा उभिएको ओलीको आरोप थियो।

पार्टीका नीति र निर्णयहरू संस्थागत हुनुपर्नेमा जोड दिँदै उनले भने, ‘पार्टीमा कोही यता फर्केर बोल्ने, कोही उता फर्केर बोल्ने र पार्टीविरुद्ध भ्रम फिँजाउने काम भइरहेको छ। समीक्षा गर्नुपर्छ भन्ने तर समीक्षा नै नभई कोही हस्ताक्षर गर्न कुद्ने त कोही अनेक भ्रम फैलाउँदै हिँड्ने गरेका छन्। यस्तो प्रवृत्तिले पार्टी एकताबद्ध हुन सक्दैन।’

उनले एमाले विगत ३६ वर्षदेखि 'जनताको बहुदलीय जनवाद' (जबज) को वैचारिक मार्गदर्शनमा एकताबद्ध भएर अगाडि बढेको स्मरण गराउँदै सबै नेता तथा कार्यकर्ताहरू व्यक्तिगत स्वार्थभन्दा माथि उठेर पार्टीको संस्थागत निर्णयको आधारमा चल्नुपर्नेमा जोड दिए। चौतर्फी घेराबन्दी र प्रहारलाई चिर्नका लागि पनि एमालेभित्र भावनात्मक र सङ्गठनात्मक रूपमा अझ कसिलो एकता अपरिहार्य रहेको उनको भनाइ थियो।

छुटाउनुभयो कि ?