घोराही (दाङ)। लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मन्त्रीहरूले सामूहिक राजीनामा दिएका छन्। सरकारमा रहेका एमालेका चार जना मन्त्रीहरूले आज मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष आफ्नो राजीनामा बुझाएका हुन्।
राजीनामा बुझाएको पुष्टि गर्दै भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले आफूहरूले सामूहिक रूपमा पदबाट राजीनामा दिएको जानकारी दिए। लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्रीसहित एमालेका कुल पाँच जना मन्त्री सहभागी थिए। तीमध्ये मुख्यमन्त्रीबाहेकका अन्य चारै जना मन्त्रीहरू सरकारबाट बाहिरिएका हुन्।
राजीनामा दिने मन्त्रीहरूमा भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकाल, सिँचाइमन्त्री सीता चौधरी, भूमि व्यवस्था तथा कृषिमन्त्री दिनेश पन्ती र स्वास्थ्यमन्त्री खेम सारु रहेका छन्। एमालेका मन्त्रीहरूको यो सामूहिक राजीनामासँगै लुम्बिनी प्रदेशको वर्तमान सरकार संकटमा परेको छ।